काठमाडौं, मंसिर ८ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवा समूहले सञ्चालन गरिरहेको समानान्तर गतिविधिमा सहभागी हुने पार्टीका नेता तथा जनप्रतिनिधिलाई विधानअनुसार कारबाही गरिने चेतावनी दिनुभएको छ ।
मंगलबार सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले एउटै पार्टीभित्र दुईवटा महाधिवेशन हुन नसक्ने स्पष्ट पार्दै पार्टीको आधिकारिक संरचनाबाहिर रहेर छुट्टै सांगठनिक गतिविधि सञ्चालन गर्ने कार्य स्वीकार्य नहुने बताउनुभयो ।
देउवा समूहले वडा, क्षेत्र, जिल्ला हुँदै प्रदेश अधिवेशनको प्रक्रिया अघि बढाउँदै मंसिर २१ देखि २३ गतेसम्म छुट्टै १५औँ महाधिवेशन गर्ने तयारी गरिरहेको छ । उक्त समूहले पार्टीको आधिकारिकता, चुनाव चिह्न र नाम आफूहरूले पाउने दाबी गर्दै आएको छ ।
बैठकमा थापाले कांग्रेसको सदस्यता कायम राखेर अर्को राजनीतिक दलको गतिविधिमा संलग्न हुन नमिल्ने बताउनुभयो । कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई देउवा समूहको समानान्तर महाधिवेशनमा सहभागी हुने विषयमा स्पष्ट निर्णय लिन उहाँले आग्रह गर्नुभयो ।
पार्टी सदस्यता त्यागेर अर्को राजनीतिक गतिविधिमा लाग्ने भए आफू निर्वाचित भएको पदबाट समेत राजीनामा दिनुपर्ने उहाँको भनाइ थियो । राष्ट्रियसभा, प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले पार्टी सदस्यता र आफ्नो राजनीतिक गतिविधिबारे स्पष्ट हुनुपर्ने उहाँले बताउनुभयो ।
थापाले आफूले कुनै पनि नेतालाई पार्टीबाट निष्कासन गर्ने नभनेको पनि स्पष्ट पार्नुभयो । संविधान, पार्टी विधान र कानुनले एउटै व्यक्ति एकै समयमा कांग्रेस र अर्को राजनीतिक दलको सदस्य हुन नदिने उहाँको तर्क थियो ।
कांग्रेसको आधिकारिक संरचनाबाहिर हुने गतिविधिलाई पार्टीको महाधिवेशनका रूपमा स्वीकार गर्न नसकिने बताउँदै उहाँले पार्टीको नाम, झन्डा र चुनाव चिह्न प्रयोग गरेर समानान्तर गतिविधि सञ्चालन गर्ने कार्यप्रति पार्टी कठोर हुने संकेत गर्नुभयो ।
चारतारे झन्डामुनि रहेका कुनै पनि नेता तथा कार्यकर्तालाई पार्टीबाट टाढा राख्ने आफ्नो उद्देश्य नरहेको उल्लेख गर्दै थापाले असन्तुष्ट पक्षका नेताहरूलाई समेत समेटेर अघि बढ्न आफू तयार रहेको बताउनुभयो । पार्टी एकताका लागि संवाद र सहमतिको बाटो खुला रहे पनि विधान र आधिकारिक संरचनालाई चुनौती दिने गतिविधि स्वीकार्य नहुने उहाँको भनाइ छ ।
विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको असन्तुष्टि समाधान गर्न विभिन्न चरणमा छलफल भइरहेको जानकारी दिँदै उहाँले सहमति र सम्झौताको पनि सीमा हुने बताउनुभयो ।
देउवा समूहले मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ । समूहले सातै प्रदेशमा अधिवेशन गर्ने तयारीसमेत गरेको छ ।
देउवा समूहले कांग्रेसबाट निर्वाचित पालिका प्रमुख तथा उपप्रमुख, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यलाई स्वतः महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ । यही निर्णय र समानान्तर अधिवेशनको प्रक्रियालाई लिएर संस्थापन पक्ष र देउवा समूहबीच विवाद चर्किएको छ । कांग्रेसको आधिकारिकतासम्बन्धी विवादसमेत न्यायिक प्रक्रियामा रहेको छ ।













प्रतिक्रिया दिनुहोस्