काठमाडौं, मंसिर ८ । रोमानियामा कार्यरत नेपाली श्रमिकले भोगिरहेका समस्या समाधान गर्न सरकारले पहल थालेको छ । श्रमिकका गुनासा सम्बोधन तथा उनीहरूको हकहित र अधिकार संरक्षणका लागि युवा, श्रम तथा रोजगार मन्त्रालयले नेपाली राजदूतावास र वैदेशिक रोजगार विभागसँगको समन्वयमा काम अघि बढाएको हो ।
मन्त्रालयले रोमानियासमेत हेर्ने जिम्मेवारी पाएको जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावाससँग समन्वय गरी त्यहाँ कार्यरत नेपाली श्रमिकका समस्या पहिचान र समाधानका लागि पहल गरिरहेको जनाएको छ ।
त्यस्तै, वैदेशिक रोजगार विभागले रोमानियामा समस्यामा परेका नेपाली श्रमिकसँग प्रत्यक्ष सम्पर्क गरी उनीहरूका गुनासा र समस्याबारे जानकारी लिन थालेको छ । ह्वाट्सएपलगायत विभिन्न माध्यमबाट श्रमिकले उपलब्ध गराएका सूचना तथा गुनासाका आधारमा विभागले आवश्यक प्रक्रिया अघि बढाएको हो ।
श्रमिकका गुनासा बढेपछि विभागले रोमानियामा नेपाली कामदार पठाउने प्रक्रियामा संलग्न इजाजतपत्र प्राप्त म्यानपावर कम्पनी तथा अन्य वैदेशिक रोजगार व्यवसायी संस्थामाथि अनुगमन र छानबिनसमेत सुरु गरेको छ ।
विभागले श्रमिकबाट प्राप्त सूचना, गुनासा तथा प्रारम्भिक तथ्यका आधारमा सम्बन्धित संस्थाको भूमिका, कामदार छनोट तथा भर्ना प्रक्रिया र सेवा शुल्कलगायत विषयमा अध्ययन गरिरहेको जनाएको छ ।
अनुगमनबाट प्राप्त तथ्य तथा प्रमाणका आधारमा आवश्यकताअनुसार थप अनुसन्धान अघि बढाइने विभागले जनाएको छ । गैरकानुनी रूपमा सेवा शुल्क असुल गरेको, भ्रामक सूचना दिएको, श्रमिकमाथि अनुचित दबाब सिर्जना गरेको, रोजगारीका सर्तमा अनियमितता गरेको वा अन्य गैरकानुनी गतिविधिमा संलग्न भएको पाइएमा सम्बन्धित संस्था तथा व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिनेछ ।
रोमानियामा नेपाली श्रमिकको उपस्थिति बढ्दै गएको सन्दर्भमा मन्त्रालयले तत्कालीन समस्या समाधानसँगै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन पनि पहल अघि बढाएको छ । वैदेशिक रोजगार प्रक्रियाको नियमन तथा अनुगमन प्रभावकारी बनाउने र सम्बन्धित निकायबीच समन्वय सुदृढ गर्ने विषयलाई मन्त्रालयले प्राथमिकतामा राखेको जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्