काठमाडौं, मंसिर ७ । नेपाली सेनासँगको संयुक्त सैन्य अभ्यासमा सहभागी हुन भारतीय सेनाको टोली नेपाल आइपुगेको छ ।
मंसिर ९ गतेदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सञ्चालन हुने अभ्यासका लागि भारतीय सैनिक टोली सोमबार नेपाल आएको हो ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाका अनुसार भारतीय सेनाको १२ कुमाउ रेजिमेन्टका अधिकारीहरूले नेपाली सेनाको ज्वालादल गणका सैनिक अधिकारीहरूसँग संयुक्त अभ्यास गर्नेछन् ।
नेपाल र भारतका सेनाबीच हुँदै आएको यस अभ्यासलाई ‘सूर्य किरण’ नाम दिइएको छ । सन् २०१० अर्थात् २०६७ सालदेखि नेपाल र भारतमा आलोपालो गरी हरेक वर्ष संयुक्त सैन्य अभ्यास सञ्चालन हुँदै आएको छ ।
मंसिर २२ गतेसम्म सञ्चालन हुने यसपटकको अभ्यासमा प्रतिविद्रोह, प्रतिआतंकवाद युद्धकला तथा विपद् व्यवस्थापनसम्बन्धी विषयमा केन्द्रित रहेर तालिम तथा अभ्यास गरिने जनाइएको छ ।













प्रतिक्रिया दिनुहोस्