दमौली, मंसिर ७ । प्रसिद्ध धार्मिकस्थल देवघाटधामको प्रचारप्रसार गर्ने उद्देश्यले आजदेखि गण्डकी परिक्रमा महोत्सव सुरु भएको छ ।
देवघाट क्षेत्रको धार्मिक महत्व र भौतिक विकासलाई प्रवर्द्धन गर्दै वैदिक सनातन धर्म तथा संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको कार्यक्रम संयोजक फणिन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।
नेपाल सन्त समाजको आयोजना तथा देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिको समन्वयमा महोत्सव सञ्चालन गरिएको हो । देवघाटधामको पूर्ण परिक्रमा गर्ने गरी २६ किलोमिटर लामो पदयात्रा आयोजना गरिएको छ । यस यात्रामा विगतदेखि नै उल्लेख्य जनसहभागिता हुँदै आएको आयोजकले जनाएको छ ।
देवघाटधामको वेणी सङ्गमबाट सुरु हुने परिक्रमा यात्राले तनहुँ, चितवन र नवलपुरका विभिन्न धार्मिक तथा सांस्कृतिक स्थल समेट्नेछ ।
तनहुँतर्फ पशुपतिनाथ मन्दिर, गङ्गा मन्दिर, अघोर आश्रम, गलेश्वर आश्रम, दुर्गा पाञ्चायन मन्दिर, चक्रवर्ती आश्रम, महेश सन्यास आश्रम, अभय सन्यास आश्रम, हरिहर सन्यास आश्रम, राम मन्दिर र लक्ष्मीनारायण मन्दिरलगायत स्थलको परिक्रमा गरिनेछ ।
त्यस्तै, चितवनतर्फ सङ्कल्पेश्वर हनुमान मन्दिर, छेदेन थर्वालिङ गुम्बा, विश्वशान्ति यज्ञशाला, राधाकृष्ण मन्दिर, कन्या गुरुकुल, धर्मदर्शन आश्रम, बागेश्वरी मन्दिर, गणेशस्थान, गौरेश्वर शिव मन्दिर र नारायणगढका विभिन्न धार्मिक स्थल समेटिनेछन् ।
नवलपुरतर्फ गोपेश्वर महादेव मन्दिर, मौलाकालिका भगवती मन्दिर, वेदविद्याश्रम, शुकदेव भागवताश्रम, श्रीनिम्बाकाचार्य दर्शन केन्द्र, श्रीलक्ष्मीनृसिंह दिव्यधाम मन्दिर, केलादी क्षेत्र र हर्दीलगायत स्थानको परिक्रमा गरिने कार्यक्रम छ ।
परिक्रमा पुनः तनहुँको देवपुरस्थित साँढेबगर बौद्ध गुम्बा र भुबराह मन्दिर हुँदै मणिमुकुन्देश्वर चक्रवर्ती आश्रममा पुगेर समापन हुनेछ ।
महोत्सवको पूर्वसन्ध्यामा आइतबार देवघाटमा मोटरसाइकल र्यालीसमेत निकालिएको थियो ।













प्रतिक्रिया दिनुहोस्