काठमाडौं, मंसिर ५ । दैलेखमा एक व्यक्तिले आफ्नै श्रीमती र तीन सन्तानमाथि बञ्चरो प्रहार गर्दा दुई बालबालिकाको मृत्यु भएको छ। घटनामा श्रीमती र अर्का एक छोरा गम्भीर घाइते भएका छन्।
जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३, पानीखोलामा शनिबार बिहान करिब ९ः३५ बजे ३८ वर्षीय अम्बर सलामी मगरले आफ्नै परिवारका सदस्यहरूमाथि दाउरा काट्ने बञ्चरो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
प्रहरीका अनुसार घरायसी सामान्य विवादका क्रममा भएको उक्त घटनामा १२ वर्षीय छोरा तपेन्द्र सलामी र ३ वर्षीया छोरी करिश्मा सलामी गम्भीर घाइते हुनुभएको थियो। उपचारका लागि दुल्लु नगर अस्पताल पुर्याइएका दुवै बालबालिकालाई चिकित्सकले बिहान ११ः१० बजे मृत घोषणा गरेका थिए।
बञ्चरो प्रहारबाट घाइते भएकी ३५ वर्षीया श्रीमती मनिषा सलामी मगर र ६ वर्षीय छोरा मिलन सलामीलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी हाँडाकोट र इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा अम्बर सलामी मगरलाई नियन्त्रणमा लिएको छ। घटनामा प्रयोग गरिएको बञ्चरोसमेत प्रहरीले बरामद गरेको छ।
घटनाको कारण र अन्य विवरणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्