जनता टाइम्स

५ मंसिर २०८३, शनिबार १५:२६

शान्ति सम्झौता र संविधानमाथि प्रहार भए आन्दोलनमा उत्रिनुपर्ने हुन सक्छ : प्रचण्ड


काठमाडौं, मंसिर ५ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति सम्झौता, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि खेलबाड गर्ने प्रयास भए आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने बताउनुभएको छ ।

भक्तपुरमा पार्टी जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै उहाँले शान्ति सम्झौता र संविधानविरुद्ध षड्यन्त्र गर्नेहरूविरुद्ध जिहाद छेड्नुपर्ने बेला आउन सक्ने चेतावनी दिनुभयो ।

प्रचण्डले राष्ट्रिय जागरण अभियान त्यसैको तयारीसमेत भएको बताउनुभयो । उहाँले शान्ति सम्झौतालाई युगान्तकारी र दूरगामी महत्त्वको सम्झौताको संज्ञा दिँदै त्यसको मर्म र भावनाविपरीतका गतिविधि स्वीकार्य नहुने धारणा राख्नुभयो ।

उहाँले हजारौँ सहिद, बेपत्ता योद्धा, घाइते तथा अपाङ्ग र लाखौँ जनताको संघर्षबाट प्राप्त उपलब्धिमाथि प्रहार गर्ने प्रयास भइरहेको आरोप लगाउनुभयो । यस्ता गतिविधिले देशलाई अर्को दुर्घटनातर्फ लैजान सक्ने आशंका पनि व्यक्त गर्नुभयो ।

शान्ति सम्झौता र संविधानको मर्मअनुसार शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउँदै देशलाई सुशासन, सामाजिक न्याय र समृद्धिको दिशामा अघि बढाउनुपर्ने उहाँको भनाइ छ ।

नयाँ संकल्पसहित एकपटक फेरि आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै प्रचण्डले नेता तथा कार्यकर्तालाई त्यसका लागि तयार रहन निर्देशन दिनुभएको छ ।