जनता टाइम्स

५ मंसिर २०८३, शनिबार १५:२४

दैलेखमा बञ्चरो प्रहारबाट घाइते श्रीमतीको पनि मृत्यु, मृतकको संख्या तीन पुग्यो


दैलेख, मंसिर ५ । दैलेखमा श्रीमानले बञ्चरो प्रहार गर्दा घाइते भएकी श्रीमतीको पनि मृत्यु भएको छ । यससँगै घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ ।

चामुण्डा बिन्द्रासैनी नगरपालिका–३, पानीखोलाका ३८ वर्षीय अम्बर सलामी मगरले शनिबार बिहान करिब ९ बजेर ३५ मिनेटमा घरायसी विवादका क्रममा आफ्नै श्रीमती र तीन सन्तानमाथि बञ्चरो प्रहार गरेका थिए ।

बञ्चरो प्रहारबाट गम्भीर घाइते भएका १२ वर्षीय छोरा तपेन्द्र र ३ वर्षीया छोरी करिश्माको उपचारका क्रममा दुल्लु नगर अस्पतालमा मृत्यु भएको थियो ।

त्यस्तै, गम्भीर घाइते ३५ वर्षीया श्रीमती मनीषा सलामी मगरलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको थियो । अस्पतालमा दिउँसो २ बजे पुर्‍याइएकी उहाँको २ बजेर १० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा घाइते भएका ६ वर्षीय छोरा मिलन सलामीको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

घटनामा संलग्न अम्बर सलामी मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनामा प्रयोग भएको बञ्चरोसमेत बरामद गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।