जनता टाइम्स

५ मंसिर २०८३, शनिबार १५:२०

शान्ति प्रक्रियालाई विगतको बोझ भन्दै पन्छिन मिल्दैन : प्रदीप ज्ञवाली


काठमाडौं, मंसिर ५ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले नेपालको शान्ति प्रक्रियालाई विगतको बोझ भन्दै पन्छिन नमिल्ने बताउनुभएको छ ।

शान्ति सम्झौता राज्यले तत्कालीन विद्रोही पक्षसँग गरेको आधिकारिक प्रतिबद्धता भएकाले सरकार परिवर्तन हुँदैमा त्यसबाट पछि हट्न नमिल्ने उहाँको भनाइ छ ।

शनिबार काठमाडौंमा आयोजित नेपाल अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा बोल्दै ज्ञवालीले संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउन सरकारले तत्काल सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गर्नुपर्ने बताउनुभयो ।

शान्ति सम्झौता भएको २० वर्ष बितिसक्दा पनि संक्रमणकालीन न्यायको काम पूरा हुन नसकेको उल्लेख गर्दै उहाँले अब ढिलाइ गर्ने समय नरहेको बताउनुभयो । आयोग गठन भएपछि सबैभन्दा पहिले द्वन्द्वका घटनाको सत्य स्थापित गर्नुपर्ने उहाँको जोड छ ।

पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा बनेको सिफारिस समितिले प्रक्रिया पूरा गरेर आयोग गठन गर्ने भएकाले यसलाई अन्य राजनीतिक नियुक्तिसरह विघटन गर्न आवश्यक नरहेको पनि ज्ञवालीले बताउनुभयो ।

उहाँले विगतका आयोगले प्रभावकारी काम गर्न नसकेको र राजनीतिक परिवर्तनसँगै पछिल्लो आयोगसमेत विघटन भएको भन्दै नयाँ आयोग तत्काल गठन हुनुपर्ने धारणा राख्नुभयो ।

संक्रमणकालीन न्यायको मुख्य उद्देश्य पीडितलाई न्याय दिनु र द्वन्द्वका घटनाको सत्य उजागर गर्नु रहेको उहाँले बताउनुभयो । सत्य स्वीकारोक्ति, न्याय र मेलमिलापबाट मात्रै दिगो शान्तिको आधार तयार हुने उहाँको भनाइ छ ।

ज्ञवालीले दोषीलाई सत्य बोल्न प्रोत्साहित गर्ने उद्देश्यले सजायमा सहुलियतको व्यवस्था अघि सारिएको उल्लेख गर्दै पीडितलाई परिचयपत्र तथा प्रमाणपत्र उपलब्ध गराउने, दिवंगतहरूको सम्मानमा स्मारक निर्माण गर्ने र परिपूरणका लागि आवश्यक स्रोत जुटाउनुपर्ने बताउनुभयो ।

सत्य, न्याय, परिपूरण र पीडितको सम्मानलाई प्राथमिकता दिएर मात्रै दण्डहीनताको अन्त्य र दिगो शान्ति सुनिश्चित गर्न सकिने उहाँको भनाइ छ ।