जनता टाइम्स

५ मंसिर २०८३, शनिबार १५:५४

अहिले नेपालमा जंगली राज मात्र होइन, राक्षसी राज चलेको छ : केपी शर्मा ओली


काठमाडौं, मंसिर ५ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्दै देशमा अहिले जंगली राज मात्र नभई राक्षसी राज चलेको बताउनुभएकाे छ । 

एमालेको नेसनल भोलेन्टियर फोर्सको स्थापना दिवसलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूलाई विनाकारण १३ दिनसम्म थुनिएको उल्लेख गर्दै सरकारले कानुनी शासनको उपहास गरेको टिप्पणी गर्नुभयाे । उहाँले भन्नुभयो, ‘मलाई विनाकारण १३ दिनसम्म थुनेर सरकारले जंगली राज देखाएको छ। यो जंगली राज मात्र होइन, राक्षसी राज हो। यदि सधैँ राक्षसी राज चलाउन खोजिन्छ भने नेपाली जनता र नेसनल युथ भोलेन्टियर फोर्स अब चुप लागेर बस्दैन।’

अध्यक्ष ओलीले लोकतान्त्रिक मूल्य र मान्यताविपरीत आगजनी, तोडफोड तथा देशलाई क्षति पुर्‍याउने गतिविधि नेपाली युवाको चाहना नभएको बताउनुभयो। उहाँले नेपाल कुनै व्यक्तिको पैतृक सम्पत्ति नभई नेपाली जनताको त्याग र बलिदानबाट निर्माण भएको राष्ट्र भएको उल्लेख गर्नुभयो।

उहाँले वर्तमान सरकार हिंसा, तोडफोड र हत्याको पृष्ठभूमिबाट बनेको बताउनुभयो । यस अघिकी प्रधानमन्त्री नियुक्ति पनि असंवैधानिक ढंगले भएको दाबी गर्नुभयो। ‘देश असंवैधानिक ढंगले चल्दैन। राज्यका संवैधानिक अंगहरूलाई निष्क्रिय बनाइयो, कुनै पनि अंगले प्रतिवाद गरेनन्,’ उहाँले भन्नुभयो।

जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे पनि अध्यक्ष ओलीले गम्भीर टिप्पणि गर्नुभयो। पानी खुवाउने नाममा विभिन्न उन्मादी रसायन मिसाएर खुवाउने काम भएको दाबी गर्दै उहाँले लुटपाट, आगजनी र तोडफोडलाई जेनजी आन्दोलनको वास्तविक उद्देश्य मान्न नसकिने बताउनुभयो।

उहाँका अनुसार युवा तथा विद्यार्थीहरूले सुरुमा केही समय आन्दोलन गरे पनि घर फर्किन आग्रह गरेपछि मात्र तोडफोड, आगजनी र लुटपाटका घटना भएका थिए। घटनाको छानबिन गर्न गठित आयोगहरूमाथि समेत उहाँले प्रश्न उठाउनुभयो। ‘छानबिन गर्न आयोगहरू बने। ती आयोगहरू अपराध ढाकछोप गर्न लागे,’ ओलीले भन्नुभयो।

नेसनल भोलेन्टियर फोर्स कठिन परिस्थितिमा जन्मिएको संगठन भएको उल्लेख गर्दै उहाँले यसको गठन राष्ट्रको रक्षा, सामाजिक सेवा र विकास निर्माणमा युवाको सहभागिता बढाउनका लागि गरिएको बताउनुभयो। उहाँले भगवान् श्रीकृष्णको जन्म पनि कठिन परिस्थितिमा भएको प्रसंग उल्लेख गर्दै राष्ट्र निर्माण र संरक्षणका लागि संघर्ष आवश्यक पर्ने धारणा राख्नुभयो। ‘बनेको राष्ट्रलाई जोगाउन भोलेन्टियर फोर्स बनेको हो,’ उहाँले भन्नुभयो।

ओलीले नेपाली जनतालाई अप्ठ्यारो पर्दा सहयोग गर्ने, विकास निर्माणमा सहभागी हुने र उद्यमशीलतामा नमुना बनेर अघि बढ्ने उद्देश्यले संगठन स्थापना गरिएको बताउनुभयो। परिवार, समाज र राष्ट्रमाथिको बोझ घटाउने गरी युवाले जिम्मेवारी निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो। उहाँले भन्नुभयो, ‘बोझ बन्नका लागि होइन, परिवारको बोझ, समाजको बोझ र देशको बोझ हटाउन भोलेन्टियर फोर्स बनेको हो। जहाँ सही र सत्य मिचिन थाल्छ, त्यहाँ भोलेन्टियर फोर्स उभिन्छ।’

नेसनल युथ भोलेन्टियर फोर्स देखाउनका लागि मात्र नभई व्यवहारमा काम गर्न र परिवर्तनका लागि गठन गरिएको संगठन भएको ओलीले बताउनुभयो। उहाँले यसलाई शान्तिपूर्ण फोर्सका रूपमा व्याख्या गर्दै शान्ति स्थापना यसको उद्देश्य रहेको उल्लेख गर्नुभयो। तर, संगठनमाथि आक्रमण भएमा त्यसको सामना कसरी गर्ने भन्ने प्रश्नसमेत उहाँले उठाउनुभयो।

अध्यक्ष ओलीले एमालेले युवाहरूलाई गलत बाटोमा हिँडाउन नभई सही मार्गमा अघि बढाउन संगठनमा आबद्ध गराएको दाबी गर्नुभयो। ‘एमालेले यो फोर्समा आबद्ध गरेको कुमार्गमा हिँडाउन होइन, सुमार्गमा हिँडाउन हो, दुरुपयोग गर्न होइन, सदुपयोग गर्न हो। नेकपा एमालेले गलत बाटोमा हिँड्न होइन, सही बाटोमा हिँड्न सिकाउँछ,’ उहाँले भन्नुभयो।

स्थापना दिवसका अवसरमा अध्यक्ष ओलीले नेसनल भोलेन्टियर फोर्सलाई राष्ट्र, समाज र नागरिकको सेवामा समर्पित हुन आग्रह गर्दै संगठनको भूमिका सामाजिक उत्तरदायित्व, शान्ति स्थापना र विकास निर्माणमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ।