जनता टाइम्स

७ मंसिर २०८३, सोमबार ०७:३७

आज देशभरको मौसम सफा रहने, केही क्षेत्रमा आंशिक बदली र हिमपातको सम्भावना


काठमाडौं, मंसिर ७ । आज देशभरको मौसम मुख्यतया सफा रहने भए पनि केही भूभागमा आंशिक बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका साथै कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

यस्तै, आज राति कोशी प्रदेशको हिमाली र पहाडी भूभागका साथै बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । कोशी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ ।