जनता टाइम्स

७ मंसिर २०८३, सोमबार ०७:२५

पशु ढुवानीमा चरम लापर्बाही, ७२ घण्टासम्म भोकैप्यासै यात्रा गर्न बाध्य


काठमाडौं, मंसिर ७ । मासु प्रयोजनका लागि विभिन्न जिल्लाबाट काठमाडौं ल्याइने पशुपक्षीको ढुवानीमा चरम लापर्बाही हुने गरेको पाइएको छ । लामो दूरीसम्म दानापानी नदिने, क्षमताभन्दा बढी पशु एउटै गाडीमा कोच्ने र अनुपयुक्त सवारीसाधन प्रयोग गरेर ओसारपसार गर्ने गरिएको तथ्य सार्वजनिक भएको हो ।

नेपाल पशु कल्याण तथा वातावरण समाजले गरेको स्थलगत अवलोकन तथा फोटो र भिडियो संकलनका क्रममा विशेषगरी राँगाभैँसी, बाख्रा र कुखुराको ढुवानीमा पशु कल्याणसम्बन्धी मापदण्ड उल्लङ्घन हुने गरेको पाइएको जनाएको छ ।

समाजले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सुदूरपश्चिमको कैलाली, टीकापुर र अत्तरियालगायत क्षेत्रबाट काठमाडौंसम्म भैँसी ल्याउन ४८ देखि ७२ घण्टासम्म लाग्ने जानकारी दिएको छ । यस अवधिमा कतिपय पशुलाई पानी र खाना समेत उपलब्ध नगराउने गरिएको पाइएको छ ।

लामो दूरीको यात्रामा पशुलाई पानी खुवाउने, खाना दिने र आराम गराउने व्यवस्था हुनुपर्ने भए पनि एउटै ट्रकमा क्षमताभन्दा बढी पशु कोचेर ल्याउने गरिएको समाजका निर्देशक हरि जोशीले बताउनुभयो । यसरी ढुवानी गर्दा पशुलाई चोटपटक लाग्ने, घाउ हुने तथा शारीरिक र मानसिक पीडा भोग्नुपर्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार राँगाभैँसीलाई विशेष प्रयोजनका लागि तयार गरिएका ढुवानी गाडीको सट्टा तरकारी तथा अन्य सामान बोक्ने ट्रकमा ओसारपसार गर्ने गरिएको छ । कतिपय अवस्थामा साना र ठूला राँगाभैँसीलाई एउटै ठाउँमा राख्ने र पर्याप्त स्थान नदिई बाँधेर ल्याउने गरिएकाले उनीहरूलाई थप असहज हुने गरेको उहाँको भनाइ छ ।

कुखुरा तथा बाख्राको ढुवानीमा पनि यस्तै समस्या देखिएको निर्देशक जोशीले बताउनुभयो । पशुपक्षीमाथि हुने यस्ता व्यवहार न्यूनीकरण गर्न समाजले जनचेतनामूलक अभियान सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो । ढुवानीका क्रममा देखिएका समस्या उजागर गर्न फोटो तथा भिडियो संकलन गरी सार्वजनिक गर्ने अभियानसमेत सुरु गरिएको छ ।

निर्देशक जोशीले पशुपक्षीको व्यापार तथा मासु व्यवसायको विरोध नभई व्यवसाय सञ्चालनका क्रममा जनावरमाथि हुने क्रुर व्यवहार रोक्नुपर्नेमा जोड दिनुभयो । पशु पनि जीवित प्राणी भएकाले उनीहरूलाई भोक, प्यास, डर र पीडा हुने उल्लेख गर्दै सुरक्षित ढुवानीको व्यवस्था गर्नु राज्य र सबै सरोकारवाला निकायको दायित्व भएको उहाँले बताउनुभयो ।

सरकारले पशु ढुवानीका लागि मापदण्ड बनाए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको उहाँको भनाइ छ । पशु ढुवानी मापदण्डलाई समयानुकूल परिमार्जन गर्ने विषयमा सरकारी निकायले चासो देखाए पनि कार्यान्वयनमा भने अपेक्षित प्रगति हुन नसकेको उहाँले बताउनुभयो ।

पशु ढुवानीलाई व्यवस्थित बनाउन विशेष प्रकारका सवारीसाधन प्रयोग गर्नुपर्ने र त्यस्ता गाडी खरिद तथा सञ्चालनमा व्यवसायीलाई सरकारले सहुलियत र राजस्व छुट दिनुपर्ने सुझाव पनि उहाँले दिनुभयो ।

त्यस्तै, लामो दूरीमा पशु ओसारपसार गर्दा बीचबीचमा विश्रामस्थल स्थापना गर्नुपर्ने उहाँको भनाइ छ । त्यस्ता केन्द्रमा पशुलाई पानी तथा दानापानी खुवाउने, आराम गराउने र आवश्यक उपचार गर्ने व्यवस्था हुनुपर्ने उहाँले बताउनुभयो ।

काठमाडौंमा पशु ढुवानीका कारण उत्पन्न हुने फोहोर तथा सरसफाइको समस्या न्यूनीकरण गर्न चितवन आसपासमै आधुनिक र व्यवस्थित वधशाला स्थापना गर्न सकिने विकल्प पनि उहाँले प्रस्तुत गर्नुभयो ।

समाजका अनुसार काठमाडौंमा राँगाभैँसी तथा अन्य पशुपक्षी कैलाली, टीकापुर, अत्तरिया, नेपालगञ्ज, बर्दिया, नवलपरासी, बारा, जनकपुर र विराटनगरलगायत क्षेत्रबाट ल्याइने गरेका छन् । पशु ढुवानीको अनुगमन प्रणालीसमेत प्रभावकारी हुन नसकेको समाजको निष्कर्ष छ ।

विभिन्न स्थानमा रहेका क्वारेन्टाइन कार्यालयले पशुको स्वास्थ्य प्रमाणपत्रका आधारमा ढुवानी प्रक्रिया अघि बढाउने गरे पनि वास्तविक अवस्थामा पशुलाई कसरी ओसारपसार गरिएको छ भन्ने विषयमा पर्याप्त स्थलगत अनुगमन हुन नसकेको जोशीले बताउनुभयो ।

पशु ढुवानीसम्बन्धी मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयन गर्न पशु सेवा विभाग, क्वारेन्टाइन कार्यालय, ट्राफिक प्रहरी, पशु खरिदबिक्री व्यवसायी तथा ढुवानी व्यवसायीबीच समन्वय र सहकार्य बढाउन पनि उहाँले सरकारसँग आग्रह गर्नुभयो ।