जनता टाइम्स

७ मंसिर २०८३, सोमबार ०७:२३

नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगीलाई अर्थमन्त्री वाग्लेको आह्वान


काठमाडौं, मंसिर ७ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगी तथा व्यवसायीलाई आह्वान गरेका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले नयाँ दिल्लीमा आयोजित ‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’लाई सम्बोधन गर्दै भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह गरेका हुन् ।

भारतीय उद्योग परिसङ्घ (सीआईआई) ले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री वाग्लेले सूचना प्रविधि, जलविद्युत् र कनेक्टिभिटी लगायतका क्षेत्रमा लगानीका प्रशस्त सम्भावना रहेको बताए । उनले नेपालमा नयाँ लगानी गर्न र यसअघि गरिएको लगानी विस्तार गर्न भारतीय उद्योगी व्यवसायीलाई आग्रह गरे ।

नेपाल सरकारले लगानीको वातावरण सुधार गर्न कानुनी तथा नीतिगत सुधारलाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले लगानीसम्बन्धी प्रक्रिया सरल र लगानीमैत्री बनाउँदै लगिएको बताए ।

वाग्लेले विदेशी लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता र लगानीबाट आर्जित नाफा सहज रूपमा फिर्ता लैजान पाउने व्यवस्थाका लागि सरकारले विशेष पहल गरिरहेको पनि स्पष्ट पारे ।

कार्यक्रममा भारतीय उद्योग वाणिज्य राज्यमन्त्री जितिनप्रसाद र सीआईआई अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष डा. विक्रमजित सिंह साहनीलगायतले सम्बोधन गरेका थिए ।

नेपाल र भारतबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित आयोजित कार्यक्रममा दुई देशबीच लगानीका सम्भावना र सहकार्यका क्षेत्रबारे छलफल भएको थियो ।