काठमाडौं, मंसिर ७ । नेपाल–चीन सीमामा रहेको मुस्ताङको कोरला नाकाबाट चालु आर्थिक वर्षको पहिलो चार महिनामा सात हजार विद्युतीय गाडी नेपाल भित्रिएका छन् ।
मुस्ताङ भन्सार कार्यालयका अनुसार छोटो अवधिमै यति ठूलो सङ्ख्यामा विद्युतीय गाडी आयात भएको यो पहिलो पटक हो । गत आर्थिक वर्षमा यस नाकाबाट तीन हजार २१३ वटा विद्युतीय गाडी आयात भएका थिए ।
गत भदौ १० गते रसुवागढी नाका बन्द भएपछि कोरला नाकाबाट विद्युतीय गाडीको आयात बढेको भन्सार अधिकृत अमिन्द्र सिंहले जानकारी दिनुभयो ।
उहाँका अनुसार साउन महिनामा १००, भदौमा एक हजार २५३ तथा असोज र कात्तिकमा पाँच हजार ६४७ वटा विद्युतीय गाडी नेपाल भित्रिएका हुन् ।
यद्यपि, आयात भएका गाडीलाई गन्तव्यसम्म पुर्याउन भने समस्या देखिएको छ । जोखिमपूर्ण सडक र दक्ष चालकको अभावका कारण दर्जनौँ विद्युतीय गाडी अझै बाटोमै अलपत्र परेको भन्सार कार्यालयले जनाएको छ ।
विद्युतीय गाडीको आयात बढेसँगै मुस्ताङ भन्सार कार्यालयको राजस्व सङ्कलनमा समेत उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामै कार्यालयले १२ अर्ब ५५ करोड १४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो कार्यालयको वार्षिक राजस्व लक्ष्यभन्दा तीन अर्ब ५५ करोड रुपैयाँ बढी हो ।
यस अवधिमा चीनबाट ३० अर्ब नौ करोड रुपैयाँ बराबरका मालसामान आयात भएका छन् । तर नेपालबाट भने २९ करोड ५२ लाख रुपैयाँ बराबरका हस्तकलाका सामग्री तथा नेपाली उत्पादन चीनतर्फ निर्यात भएका छन् ।
कोरला नाकाबाट विद्युतीय गाडीको आयात तीव्र रूपमा बढे पनि सडक पूर्वाधार, ढुवानी व्यवस्थापन र दक्ष चालकको अभावले आयातित गाडी गन्तव्यसम्म पुर्याउने चुनौती थपिएको छ ।













प्रतिक्रिया दिनुहोस्