काठमाडौं, मंसिर ७ । एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा पाकिस्तान ‘ए’ले भारत ‘ए’लाई ४८ रनले पराजित गरेको छ ।
कतारको दोहामा सोमबार भएको समूह ‘बी’को खेलमा ३१४ रनको लक्ष्य पछ्याएको भारत ‘ए’ ४९ ओभर १ बलमा २६५ रनमा समेटियो । भारतका कप्तान तिलक बर्माले शतकीय इनिङ खेल्दै १०० रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।
पाकिस्तानका हसन नवाज र अली राजाले समान ३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ले ४९ ओभर २ बलमा सबै विकेट गुमाएर ३१३ रन बनाएको थियो । पाकिस्तानका लागि हसन नवाजले सर्वाधिक ७९ रन बनाए । माज सदाकतले ५९ र फरहान युसुफले ५६ रनको योगदान दिए ।
लगातार दुई खेल जितेको पाकिस्तान ‘ए’ समूह ‘बी’बाट सेमिफाइनल नजिक पुगेको छ ।
यसअघि नेपालले यूएईलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको थियो । पहिलो खेलमा भारत ‘ए’सँग ३०६ रनको फराकिलो अन्तरले पराजित भएको नेपालले सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न समूह चरणको अन्तिम खेल जित्नुपर्नेछ ।
नेपालले मंगलबार पाकिस्तान ‘ए’सँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल जितेमा नेपालको सेमिफाइनल पुग्ने सम्भावना कायम रहनेछ ।













प्रतिक्रिया दिनुहोस्