काठमाडौं, मंसिर ६ । अभियन्ता दुर्गा प्रसाईँले प्रधानमन्त्री बालेन्द्र साहलाई भारत भ्रमणका क्रममा नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतासँग जोडिएका विषयमा स्पष्ट रूपमा नेपालको पक्ष राख्न सुझाव दिनुभएको छ ।
प्रसाईँले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री साहलाई भारत भ्रमणको शुभकामना दिँदै लिपुलेक नेपालको अभिन्न भूभाग भएको विषय भारतसमक्ष उठाउन आग्रह गर्नुभएको हो ।
भारत र चीनबीच नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने विषयमा भएको सहमतिप्रति ध्यानाकर्षण गराउँदै उहाँले नेपालको सहमतिबिना नेपाली भूमिबारे कुनै पनि निर्णय हुन नसक्ने कुरा भारतलाई स्मरण गराउन प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ ।उहाँले फेसबुकमा लेख्नुभएको छ, “प्रधानमन्त्रीज्यू, भारत भ्रमणको हार्दिक शुभकामना ! नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनबीचको सहमतिले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि प्रश्न उठाएको छ । लिपुलेक नेपालको अभिन्न भूभाग हो र नेपालको सहमतिबिना नेपालको भूमिबारे कुनै पनि निर्णय हुन सक्दैन भन्ने कुरा भारतलाई सम्झाउन नबिर्सनुहोला ।”
त्यसैगरी, नेपालको आकाश प्रयोग गरेर बागडोगरा सैन्य विमानस्थलका लागि उडान सञ्चालन गर्न नदिन पनि उहाँले प्रधानमन्त्री साहलाई सुझाव दिनुभएको छ । प्रसाईँले आफ्नो सन्देशमा प्रधानमन्त्रीलाई थप हौसला दिँदै लेख्नुभएको छ, “बागडोगरा सैन्य एयरपोर्टका लागि नेपाली आकाश प्रयोग गर्न नदिनुहोला । All the best हामीलाई तपाईंमाथि पूर्ण विश्वास छ। झिक्कैझिक्कै माया !”
प्रधानमन्त्री साहको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हित, सार्वभौमिकता, भौगोलिक अखण्डता तथा हवाई क्षेत्रको प्रयोगसँग सम्बन्धित विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने प्रसाईँको सुझाव रहेको छ ।













प्रतिक्रिया दिनुहोस्