काठमाडौं, मंसिर ६ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन तथा प्रभावित नागरिकसँग छलफल र अन्तरक्रिया गर्न त्यसतर्फ पुग्नुभएको छ ।
सभापति थापा टोखा–छहरे हुँदै वेत्रावती पुग्नुभएको हो । उहाँले त्यहाँ रसुवा र नुवाकोट दुवै जिल्लाका बाढीप्रभावित नागरिकसँग भेटघाट तथा अन्तरक्रिया गर्नुहुने कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ ।
वेत्रावतीमा प्रभावित नागरिकका समस्या, उनीहरूले भोग्नुपरेका कठिनाइ तथा पुनःस्थापना र राहतका विषयमा उहाँले जानकारी लिनुहुने बताइएको छ ।
त्यसपछि सभापति थापा रसुवाको बोगटीटारस्थित होल्डिङ सेन्टर पुगेर त्यहाँ रहेका प्रभावित नागरिकसँग छलफल तथा अन्तरक्रियामा सहभागी हुनुहुनेछ ।
त्यसैगरी, नुवाकोट फर्किएर उहाँले ढुङ्गे र त्रिशूली बजारका बाढीप्रभावित नागरिकसँग पनि भेटघाट, छलफल तथा अन्तरक्रिया गर्नुहुने कार्यक्रम रहेको छ । उहाँले विदुरमा बाढी प्रभावित सरोकार समितिका प्रतिनिधिहरूसँग भेटेर उनीहरूका समस्या र आवश्यकताबारे छलफल गर्नुहुनेछ ।
सभापति थापा विदुर नगरपालिका–५, पिपलटारमा नुवाकोट र रसुवाका बाढीप्रभावित नागरिकलाई राखिएका पाँचवटा होल्डिङ सेन्टरको समेत अवलोकनमा पुग्नुहुनेछ । सो क्रममा उहाँले प्रभावित नागरिकसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको अवस्था र समस्याबारे जानकारी लिनुहुने कांग्रेसले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रको स्थलगत भ्रमणमार्फत प्रभावित नागरिकका समस्या, राहत, पुनःस्थापना तथा आगामी दिनमा आवश्यक पहलका विषयमा जानकारी लिन सभापति थापा प्रभावित क्षेत्र पुग्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्