जनता टाइम्स

६ मंसिर २०८३, आइतबार ११:३८

दुई अर्ब डलरको सहुलियतपूर्ण ऋण र अनुदान प्रस्तावमा भारत सकारात्मक, हवाई रुटमा सहमति जुटेन


काठमाडौं, मङ्सिर ६ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणअघि नेपालले प्रस्ताव गरेको दुई अर्ब अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण तथा अनुदानमा भारत सकारात्मक देखिएको छ । तर, नेपालले लामो समयदेखि उठाउँदै आएको थप हवाई रुट उपलब्ध गराउने विषयमा भने दुई देशबीच सहमति जुट्न सकेको छैन ।

प्रधानमन्त्री शाहको दुईदिने भारत भ्रमणको पूर्वसन्ध्यामा दुवै देशका अधिकारीबीच भएको छलफलमा आर्थिक सहयोगको प्रस्तावप्रति भारतले सकारात्मक संकेत दिएको हो । नेपालले थप हवाई रुट उपलब्ध गराउन पनि प्रस्ताव गरेको थियो । तर, यस विषयमा वार्ता अझै जारी रहेको अधिकारीहरूले बताएका छन् ।

हवाई रुटसम्बन्धी छलफलमा भारतले बागडोगरा प्रवेश बिन्दु हुँदै आफ्ना सैन्य विमानलाई समेत उडान अनुमति दिनुपर्ने प्रस्ताव राखेपछि वार्ता थप जटिल बनेको छ । नेपालले भने सैन्य विमान नभई नागरिक विमानलाई मात्र अनुमति दिन सकिने स्पष्ट पारेको छ ।

भारतीय हवाई क्षेत्र हुँदै नेपाल प्रवेश गर्ने विमानले कति उचाइमा उडान गर्न पाउने भन्ने विषयमा पनि सहमति जुट्न सकेको छैन । भारतले ३९ हजार फिट उचाइ प्रस्ताव गरेको छ भने नेपालले त्यसलाई घटाएर करिब २९ हजार फिट कायम गर्नुपर्ने अडान राखेको छ ।

त्यस्तै, नेपालले पश्चिमी क्षेत्रको एल६२६ अर्थात् काठमाडौं–महेन्द्रनगर हवाई रुटलाई दुवैतर्फी सञ्चालनमा ल्याउन जोड दिएको छ । हाल उक्त रुटबाट अन्तर्राष्ट्रिय विमानले नेपालको पश्चिमी क्षेत्र हुँदै बाहिरिन मात्र पाउँछन् । सोही रुटबाट नेपाल प्रवेश गर्न भने अनुमति छैन । दुवैतर्फी सञ्चालनमा आए पश्चिमी सीमाबाट अन्तर्राष्ट्रिय विमानको प्रवेश र बहिर्गमन सहज हुने नेपालको अपेक्षा छ ।

यसैबीच, प्रधानमन्त्री शाहले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । हैदरावाद हाउसमा हुने भेटवार्तामा दुई प्रधानमन्त्रीबीच एक्लाएक्लै, सीमित अधिकारीसहित र प्रतिनिधिमण्डल तहमा गरी तीन चरणमा छलफल हुनेछ ।

भ्रमणका क्रममा दुई देशबीच विभिन्न समझदारीपत्रमा हस्ताक्षर तथा ऊर्जा, पूर्वाधार र सम्पर्क सञ्जालसँग सम्बन्धित परियोजनाको उद्घाटन र शिलान्यास गर्ने तयारी छ ।

दुवै प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट जनकपुर–अयोध्या रेल सेवा शुभारम्भ गर्ने, दार्चुलामा निर्माण भएको मोटरेबल पुल उद्घाटन गर्ने तथा भारतको बनवासामा एकीकृत जाँच चौकीको शिलान्यास गर्ने कार्यक्रम छ । त्यस्तै, दोधारा चाँदनीमा निर्माणाधीन एकीकृत जाँच चौकीको प्रगतिको अवलोकन गरिनेछ ।

६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनाको शिलान्यास र झापामा निर्माण हुने पेट्रोलियम पदार्थ भण्डारण टर्मिनलको निर्माण शुभारम्भ पनि भ्रमणका क्रममा गर्ने तयारी छ । यसका साथै दोस्रो चरणको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना नेपाललाई हस्तान्तरण गरिनेछ ।

प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र विदेशमन्त्री एस. जयशंकरसँग पनि भेटवार्ता गर्नुहुनेछ । भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धका समग्र पक्ष, व्यापार, ऊर्जा, जलस्रोत, पूर्वाधार, प्रविधि तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल हुने दुवै देशका परराष्ट्र मन्त्रालयले जनाएका छन् ।

भ्रमणको अन्त्यमा संयुक्त विज्ञप्तिसँगै विकास र समृद्धिका लागि संयुक्त दृष्टिपत्र सार्वजनिक गर्ने तयारीसमेत छ । भ्रमणले दुई देशबीचको द्विपक्षीय साझेदारीलाई थप सुदृढ बनाउने र दुवै देशका नागरिकले प्रत्यक्ष लाभ पाउने सहकार्य अघि बढाउने अपेक्षा गरिएको छ ।