काठमाडौं, मंसिर ६ । प्रधानमन्त्री बालेन्द्र साहले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले खेलकुदको विकाससँगै कर्णाली प्रदेशको भूगोल, संस्कृति, इतिहास र आर्थिक सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री साहले सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना सन्देश जारी गर्दै यसपटक कर्णाली प्रदेशमा आयोजना हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगितालाई नागरिकस्तरबाटै साथ र समर्थन गर्न आग्रह गर्नुभएको हो । उहाँले सन्देशमा लेख्नुभएको छ, “प्रिय कर्णाली, घरेलु खेलकुदको सबैभन्दा ठूलो उत्सव राष्ट्रिय खेलकुद प्रतियोगिताको दशौँ संस्करण यसपटक तपाईंहरूको प्रदेशमा आयोजना हुँदैछ ।”
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुने तय भएको छ भने मुख्य खेलहरू मंसिर ८ गतेदेखि नै सुरु हुने प्रधानमन्त्री साहले उल्लेख गर्नुभएको छ । प्रतियोगितामा राष्ट्रियस्तरका आठ हजारभन्दा बढी खेलाडी, अफिसियल तथा खेल अधिकारीहरू कर्णाली प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुने खेलहरूमा सहभागी हुने उहाँले जानकारी दिनुभएको छ ।
कर्णाली प्रदेशले पहिलोपटक यति ठूलो खेलकुद महाकुम्भ आयोजना गर्न लागेको उल्लेख गर्दै प्रधानमन्त्री साहले प्रतियोगिताले नयाँ खेलाडीको पहिचान र खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्नुका साथै खेल पूर्वाधार विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउने बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “यस प्रतियोगिताले नयाँ खेलाडीको पहिचान, खेलाडीलाई प्रतिस्पर्धाको अवसर र खेल पूर्वाधारको विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ । साथै, खेलकुदको माध्यमबाट कर्णालीको भूगोल, संस्कृति, इतिहास र आर्थिक सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउनसमेत महत्वपूर्ण भूमिका खेल्नेछ । त्यसैले तपाईंहरू नागरिकस्तरबाटै यस खेलकुदलाई साथ र समर्थन गर्नुहुनेछ भन्ने अपेक्षा राख्दछु ।”
हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित सुरु गरिएको राष्ट्रिय खेलकुद प्रतियोगिताका अहिलेसम्म नौवटा संस्करण मात्रै आयोजना हुन सकेको विषयलाई प्रधानमन्त्री साहले दुःखद पक्षका रूपमा औँल्याउनुभएको छ । अब सरकारले प्रतियोगिताको मूल उद्देश्यअनुरूप नियमित रूपमा आयोजना गर्न तथा यसको स्तर अभिवृद्धि गर्न गम्भीरतापूर्वक काम गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री साहले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले खेलकुदको विकाससँगै राष्ट्रिय एकता र आपसी सद्भावलाई थप बलियो बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै प्रतियोगिताको सफल आयोजनाका लागि शुभकामना दिनुभएको छ ।
उहाँले आफ्नो शुभकामना सन्देशको अन्त्यमा “जय कर्णाली ! जय खेलकुद ! जय जय नेपाल !” भन्दै प्रतियोगिताप्रति ऐक्यबद्धता व्यक्त गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्