जनता टाइम्स

६ मंसिर २०८३, आइतबार ११:५२

मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले मैथिली भाषामा लिए पद तथा गोपनीयताको शपथ


जनकपुरधाम, मङ्सिर ६ । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आइतबार प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

मुख्यमन्त्री यादवले मैथिली भाषामा शपथ लिनुभएको छ । शपथ लिए पनि उहाँले तत्काल मन्त्रिपरिषद् विस्तार गर्नुभएको छैन ।

प्रदेश प्रमुख कर्णले शनिबार जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेस प्रदेश संसदीय दलका नेता यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।

संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठनका लागि आह्वान गरिए पनि कुनै दलले बहुमतसहित दाबी पेस गर्न नसकेपछि प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा यादव मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।

यादवको मुख्यमन्त्रीका रूपमा यो दोस्रो कार्यकाल हो । यसअघि उहाँ प्रदेशसभाको दोस्रो कार्यकालमा मधेस प्रदेशको पहिलो मुख्यमन्त्री बन्नुभएको थियो । प्रदेशसभाको पहिलो कार्यकालमा भने उहाँ सभामुख हुनुहुन्थ्यो ।