जनता टाइम्स

६ मंसिर २०८३, आइतबार ०८:४२

दशौँ राष्ट्रिय खेलकुदका ३२ खेलको प्रतियोगितास्थल सार्वजनिक, सुर्खेतमा २२ खेल हुने


कर्णाली, मङ्सिर ६ । यही मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका ३२ खेलको प्रतियोगितास्थल सार्वजनिक गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्ले सार्वजनिक गरेको विवरणअनुसार सुर्खेतमा सबैभन्दा बढी २२ खेल सञ्चालन हुनेछन् । एथ्लेटिक्स, महिला तथा पुरुष क्रिकेट, ह्यान्डबल, बास्केटबल, रग्बी, सेपकताक्रो, हक्की, भलिबल र कबड्डीलगायत खेल सुर्खेतमा हुनेछन् ।

त्यस्तै, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबलटेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, स्क्वास, आर्चरी, भारोत्तोलन, साइक्लिङ र ई–स्पोर्ट्स पनि सुर्खेतका विभिन्न स्थानमा सञ्चालन हुने परिषद्का सदस्यसचिव रामचरित्र मेहत्ताले जानकारी दिनुभयो ।

टेनिस तथा महिला र पुरुष खो–खो बर्दियामा, पौडी र सुटिङ नेपालगञ्जमा, जुडो र कुस्ती सल्यानमा सञ्चालन हुनेछन् । त्यस्तै, आईटीएफ तेक्वान्दो दैलेख, महिला तथा पुरुष फुटबलको सेमिफाइनल र फाइनल जुम्ला, बुद्धिचाल कालीकोट र शारीरिक सुगठन पश्चिम रुकुममा हुनेछ ।

बाँके र बर्दियामा दुई–दुई तथा सल्यानमा दुई खेल सञ्चालन हुनेछन् । जुम्ला, कालीकोट, दैलेख र रुकुमपश्चिममा एक–एक खेल आयोजना गरिनेछ ।

केही खेल मङ्सिर ८ गतेदेखि नै सुरु हुने भए पनि प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते हुनेछ ।

प्रतियोगितामा ६ हजार खेलाडी र तीन हजार अफिसियल गरी करिब नौ हजार जनाको सहभागिता रहने आयोजकले जनाएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रवीन्द्र चन्दले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो ।

प्रतियोगिता व्यवस्थित रूपमा सञ्चालन गर्न मूल समारोह समितिसहित १४ वटा समिति गठन गरिएको उहाँले जानकारी दिनुभयो ।