जनता टाइम्स

५ मंसिर २०८३, शनिबार २२:१२

देशले युवा गुमायो, राष्ट्रिय सम्पत्ति खरानी भयो, सत्ता बदलियो तर पनि चेतना फेरिएन : चन्द्र भण्डारी 


काठमाडौं, मंसिर ५ । नेपाली कांग्रेसका उपसभापति डा. चन्द्र भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको चीन भ्रमणका क्रममा भएको संवादको अडियो सार्वजनिक भएपछि असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

चीन भ्रमणमा गएका सांसदहरूले मुलुकका लागि नयाँ ज्ञान, अनुभव र सोच लिएर फर्कने अपेक्षा गरिए पनि सार्वजनिक अडियोमा सुनिएका कुराले पुरानै स्वार्थकेन्द्रित चिन्तन झल्काएको उहाँको टिप्पणी छ ।

उपसभापति भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै सार्वजनिक अडियोप्रति दुःख व्यक्त गर्नुभएको हो । उहाँले लेख्नुभएको छ, “दुःख लागेको छ !!! चीन भ्रमणमा जानुभएका माननीयहरूले मुलुकका लागि केही नयाँ सिकेर फर्कनुहुनेछ भन्ने अपेक्षा थियो। तर सार्वजनिक अडियोका कुरा सुन्दा सोच र चिन्तन अझै पुरानै स्वार्थमा केन्द्रित देखिन्छ।”

देशमा ठूलो राजनीतिक तथा सामाजिक परिवर्तन भइसक्दा पनि नेतृत्व तहको सोच र चिन्तनमा अपेक्षित परिवर्तन आउन नसकेको उहाँको टिप्पणी छ ।

भण्डारीले देशले युवा गुमाएको, राष्ट्रिय सम्पत्ति खरानी भएको र सत्ता परिवर्तनसमेत भइसकेको अवस्थालाई स्मरण गराउँदै राजनीतिक नेतृत्वको चेतना र कार्यशैलीमा परिवर्तन आउन नसकेकोप्रति प्रश्न उठाउनुभएको छ । उहाँले थप लेख्नुभएको छ, “देशले युवा गुमायो, राष्ट्रिय सम्पत्ति खरानी भयो, सत्ता बदलियो तर पनि चेतना फेरिएन !!!”

रास्वपाका सांसदहरूको चीन भ्रमणका क्रममा भएको भनिएको संवादको अडियो सार्वजनिक भएपछि त्यसले राजनीतिक वृत्तमा चर्चा र प्रतिक्रिया निम्त्याइरहेको छ । सोही विषयलाई लिएर कांग्रेस उपसभापति भण्डारीले सार्वजनिक रूपमा आफ्नो असन्तुष्टि व्यक्त गर्नुभएको हो ।