काठमाडौं, मंसिर ५। प्रधानमन्त्री बालेन्द्र साहले नेपाल प्रिमियर लिग (एनपीएल) लाई देशव्यापी विस्तार गर्ने लक्ष्यसहित आठवटै फ्रेन्चाइज क्लबका लागि आफ्नै क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गर्नुभएको छ।
एनपीएलको तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेपछि प्रधानमन्त्री साहले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली क्रिकेटको पूर्वाधार विकाससम्बन्धी योजना सार्वजनिक गर्नुभएको हो।
प्रधानमन्त्रीको घोषणाअनुसार एनपीएलको छैटौँ संस्करणदेखि प्रतियोगिता होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्ने गरी आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गरिनेछ। ती रंगशाला नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिने जनाइएको छ। प्रधानमन्त्री साहले फेसबुकमा लेख्नुभएको छ, ‘एनपीएलको विजेता सुदूरपश्चिम रोयल्सलाई हार्दिक बधाई !’
उहाँले नेपाली क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकार तयार रहेको उल्लेख गर्नुभएको छ।
घोषणाअनुसार सुदूरपश्चिम रोयल्सको घरेलु मैदानका रूपमा रहने फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ। आगामी तीन महिनाभित्र अन्य सबै रंगशालाको निर्माण प्रक्रिया पनि अघि बढाइने प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ।
प्रस्तावित योजनाअनुसार क्लब र रंगशालाको विवरण यस्तो छ :
१. विराटनगर किंग्स – बैजनाथपुर क्रिकेट रंगशाला
२. लुम्बिनी लायन्स – सिद्धार्थ क्रिकेट रंगशाला
३. कर्णाली याक्स – सुर्खेत क्रिकेट रंगशाला
४. सुदूरपश्चिम रोयल्स – फाप्ला क्रिकेट रंगशाला
५. काठमाडौं गुर्खाज – कीर्तिपुर क्रिकेट मैदान
६. पोखरा एभेन्जर्स – पोखरा क्रिकेट रंगशाला
७. जनकपुर बोल्ट्स – रामजानकी क्रिकेट रंगशाला
८. चितवन राइनोज – गौतमबुद्ध क्रिकेट रंगशाला
आठवटै क्लबका लागि आफ्नै घरेलु मैदान निर्माण भएपछि एनपीएलका खेलहरू काठमाडौंमा मात्र सीमित रहने छैनन्। देशका विभिन्न सहरमा प्रतियोगिता सञ्चालन हुँदा स्थानीय दर्शकले आफ्नै क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको खेल हेर्न पाउनेछन्।
फ्लडलाइटसहितका रंगशाला निर्माणले रात्रीकालीन खेल सञ्चालन गर्नसमेत सहज हुनेछ। यसबाट क्रिकेटको व्यावसायिक विकास, खेल पर्यटन, स्थानीय अर्थतन्त्र र नयाँ खेलाडी उत्पादनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। सरकारको यो योजना कार्यान्वयन भएमा नेपाली क्रिकेटको पूर्वाधार विकासमा नयाँ अध्याय सुरु हुनेछ।













प्रतिक्रिया दिनुहोस्