जनता टाइम्स

९ मंसिर २०८३, बुधबार ०८:२३

भारतीय सांसदद्वारा प्रधानमन्त्री बालेनलाई ट्याग गर्दै प्रश्न, नेपाली मूलकी आमाका कारण युवा नेता रोकिएको आरोप


काठमाडौँ, मङ्सिर ९ । भारतीय सांसद महुवा मोइत्राले नेपाली मूलकी आमा भएका कारण भारतीय युवा नेता सौरभ दासलाई बेलायत जानबाट रोकिएको आरोप लगाउँदै प्रधानमन्त्री वालेन्द्र शाहलाई सामाजिक सञ्जालमार्फत प्रश्न गर्नुभएको छ ।

भारतको ककरोच जनता पार्टी (सीजेपी)का नेता दासलाई सोमबार दिल्ली विमानस्थलमा लन्डन जाने उडान चढ्न रोकिएको थियो । उनी अक्सफोर्ड युनियनको कार्यक्रममा सहभागी हुन बेलायत जान लागेका थिए ।

भारतीय सञ्चारमाध्यम द ट्रिब्युनका अनुसार चेन्नईस्थित क्षेत्रीय राहदानी कार्यालयले जन्मस्थानसम्बन्धी विवरणमा असमानता रहेको भन्दै कारण देखाऊ सूचना जारी गरेको थियो । उक्त सूचनाको जवाफ नदिएको भन्दै उनलाई विदेश यात्रा गर्न रोकिएको हो ।

यसै घटनालाई लिएर पश्चिम बंगालबाट निर्वाचित तृणमूल कांग्रेसकी सांसद महुवा मोइत्राले सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री बालेन शाहलाई ट्याग गर्दै प्रश्न गर्नुभएको छ ।

उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग सम्बन्ध विस्तारको प्रयास गरिरहेका बेला नेपाली मूलकी आमा भएका कारण एक युवा नेतालाई विदेश जान रोकिएको भन्दै विरोधाभासपूर्ण व्यवहार भएको टिप्पणी गर्नुभएको छ ।

मोइत्राले लेख्नुभएको छ, “प्रिय बालेन शाह, हाम्रा प्रधानमन्त्री तपाईंसँग निकटता बढाउँदै हुनुहुन्छ । तर, अर्कोतर्फ जेनजी नेता सौरभ दासलाई अक्सफोर्ड युनियनमा भाषण दिन जाने क्रममा उडान भर्नबाट रोकिएको छ, किनकि उनकी आमा नेपाली मूलकी हुन् । तपाईं युवाको आन्दोलनको बलमा प्रधानमन्त्री बन्नुभयो । हेर्नुहोस्, हाम्रा प्रधानमन्त्री युवासँग कस्तो व्यवहार गर्नुहुन्छ ! धिक्कार छ ।”

यता दासलाई जारी गरिएको कारण देखाऊ सूचनामा सन् २०१९ अगस्ट २१ मा चेन्नईबाट जारी राहदानी र अन्य पहिचानसम्बन्धी अभिलेखमा जन्मस्थानको विवरण नमिलेको उल्लेख छ ।

राहदानी कार्यालयले उनलाई सात दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । साथै, कार्यालयमा लिखित जवाफ नबुझाएसम्म उक्त राहदानी प्रयोग गरेर विदेश यात्रा नगर्न भनिएको छ ।

दासले भने केन्द्र सरकारले आफ्नो पार्टीलाई राजनीतिक रूपमा निशाना बनाएको आरोप लगाएका छन् । गिरफ्तारी र शारीरिक धम्कीमार्फत समर्थकलाई चुप लगाउन नसकेपछि नागरिकता तथा राहदानीसम्बन्धी कागजातमाथि प्रश्न उठाउन थालिएको उनको दाबी छ ।

यद्यपि, उनलाई विदेश यात्रा गर्न रोकिएको घटनालाई राजनीतिक प्रतिशोधसँग जोड्ने दाबी पुष्टि गर्ने प्रमाण सार्वजनिक भएको छैन । राहदानी जफत गर्ने प्रक्रिया अघि बढेको भए पनि हालसम्म राहदानी जफत भइसकेको पुष्टि भएको छैन ।

अब दासले कारण देखाऊ सूचनाको जवाफमा दिने स्पष्टीकरण र त्यसपछि राहदानी कार्यालयले गर्ने निर्णयले उनको विदेश यात्राको विषय टुङ्गो लगाउनेछ ।