जनता टाइम्स

९ मंसिर २०८३, बुधबार ०७:५१

आनी छोइङ डोल्माको नियुक्तिविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ


काठमाडौँ, मङ्सिर ९ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज सर्वोच्च अदालतमा पेसी तोकिएको छ ।

आनी छोइङको नियुक्ति गैरकानुनी, विधि र प्रक्रियाविपरीत भएको दाबी गर्दै राष्ट्रिय जेनजी नागरिक अभियानले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।

नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा गरिएको नियुक्तिको वैधानिकतामाथि प्रश्न उठाउँदै रिट दायर गरिएको हो ।

सुनील सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीका तर्फबाट दायर रिटमा आनी छोइङ डोल्माको नियुक्ति सार्वजनिक पदाधिकारीको नियुक्ति र योग्यतासम्बन्धी मापदण्ड, २०७१ बमोजिम नभएको दाबी गरिएको छ ।

अभियानले नियुक्तिको कानुनी वैधता परीक्षण गरी विधिको शासन र कानुनी प्रक्रियाको सुनिश्चितता गर्न अदालतको हस्तक्षेप माग गरेको जनाएको छ ।

मन्त्रिपरिषद्ले गत असोज ३० गते आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरेको थियो । उनले मङ्सिर २ गते पदबहाली गरिसकेकी छन् ।