जनता टाइम्स

२१ कार्तिक २०८३, शनिबार ०७:५०

डा. गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति, २५औँ अनशन तोडियो


काठमाडौं, कात्तिक २१ । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत प्रा. डा. गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति भएको छ । सहमतिसँगै केसीले शनिबार राति आफ्नो २५औँ सत्याग्रह अन्त्य गर्नुभएको छ ।

पटकपटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल शनिबार राति त्रिवि शिक्षण अस्पताल पुगेर सहमतिमा हस्ताक्षर गर्नुभएको थियो । त्यसपछि उहाँले डा. केसीको अनशन तोडाउनुभएको हो ।

अनशन तोडिएपछि मन्त्री पोखरेलले यो नै डा. केसीको अन्तिम अनशन हुने विश्वास व्यक्त गर्नुभयो । सहमतिमा उल्लेखित विषय कार्यान्वयनको प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो ।

सहमति पत्रमा डा. केसी, शिक्षा तथा खेलकुदमन्त्री पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीश अग्रवाल, सांसद पुकार बम र नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. बद्री रिजालले हस्ताक्षर गर्नुभएको छ ।