काठमाडौं, कात्तिक १८ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आज पनि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइँदैछ।
कार्यक्रमअन्तर्गत छ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो। मंगलबार पनि बालबालिकालाई यी औषधि खुवाइएको थियो।
स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाका अनुसार यस अभियानमा करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ।
उहाँले अभिभावकलाई आफ्ना बालबालिकालाई पायक पर्ने स्थानमा अनुकूल समय मिलाएर लगी औषधि खुवाउन आग्रह गर्नुभएको छ।
कार्यक्रम सञ्चालनका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ। सरकारले हरेक वर्ष कात्तिक र वैशाखमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै आएको छ।
बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित रूपमा खुवाउँदै आएको छ।














प्रतिक्रिया दिनुहोस्