काठमाडौं, कात्तिक १८ । नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले इनम सापकोटा प्रकरणले सत्ताको दुरुपयोग भइरहेको विषयलाई स्पष्ट पारेको बताउनुभएको छ। उहाँले वर्तमान सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै देशमा सुशासनको सट्टा छाडातन्त्र हावी हुँदै गएको टिप्पणी गर्नुभएको छ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आज आफ्नो धारणा सार्वजनिक गर्दै महामन्त्री संग्रौलाले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार सञ्चालन भइरहेको भए पनि मुलुकमा भइरहेका गतिविधिले सरकारको जवाफदेहिता र कार्यशैलीमाथि प्रश्न उठाएको बताउनुभएको छ।उहाँले लेख्नुभएको छ, “इनम सापकोटा प्रकरणले सत्ताको दुरुपयोग कसरी भइरहेको छ भन्ने कुरा घामजस्तै छर्लङ्ग भएको छ। देशमा प्रधानमन्त्री बालेन शाह हुनुहुन्छ कि को हुनुहुन्छ भन्ने कुरा आम मान्छेले भेउ पनि पाउन छाडेपछि देशमा सुशासन होइन, छाडातन्त्र हावी भएका उदाहरणहरू देखिन थालेका छन्।”
महामन्त्री संग्रौलाले लोकतन्त्रको पहरेदारका रूपमा रहेको नेपाली कांग्रेसमाथि सत्ताको दुरुपयोग गरेर आक्रमण गर्न खोजिएको आरोपसमेत लगाउनुभएको छ। सत्तामा रहेकाहरूले गरेका गल्तीहरू क्रमशः सार्वजनिक हुँदै जाँदा त्यसको जवाफदेहिताबाट पन्छिन नसकिने उहाँको भनाइ छ।
उहाँले प्रहरी हिरासतमा रहेका अभियुक्तको मोबाइल फोन फरेन्सिक परीक्षण गर्नुअघि नै प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले दुई दिनसम्म आफ्नै घरमा लुकाएर राखेको भनिएको विषय सञ्चारमाध्यमबाट सार्वजनिक भएको उल्लेख गर्दै यसबारे सरकारसँग जवाफ माग्नुभएको छ। “प्रहरी हिरासतमा रहेका अभियुक्तको मोबाइल फोनलाई फरेन्सिक परीक्षण गर्नुअघि नै प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले दुई दिनसम्म आफ्नै घरमा लुकाएर राखेको भनिएको कुरा समेत जिम्मेवार मिडियाबाट सार्वजनिक भइसकेको अवस्थामा अब जवाफ दिनुपर्ने पालो सत्ता र सत्तारूढ दलको हो,” उहाँले लेख्नुभएको छ।
संग्रौलाले सरकार र सत्तारूढ दलले प्रतिपक्षलाई मात्रै प्रश्न गर्ने प्रवृत्तिमाथि पनि आपत्ति जनाउनुभएको छ। लोकतान्त्रिक शासन व्यवस्थामा सत्तापक्ष पनि आफ्ना कामकारबाहीप्रति उत्तिकै जवाफदेही हुनुपर्ने उहाँको भनाई छ । उहाँले प्रश्न गर्नुभएको छ, “कि बालेनराजमा प्रश्न प्रतिपक्षलाई मात्रै गरिन्छ ?”














प्रतिक्रिया दिनुहोस्