जनता टाइम्स

१८ कार्तिक २०८३, बुधबार ०७:१५

कृषि पढेका युवाको रोजाइमा पुष्पखेती, १० कट्ठामा फूल उत्पादन


बाँके, कात्तिक १८ । कृषि विषयमा स्नातक तह पूरा गर्न लागेका बाँकेका तीन युवाले पुष्पखेतीलाई आम्दानीको माध्यम बनाएका छन्। नेपालगञ्ज उपमहानगरपालिका–१९ फुटाहामा उनीहरूले १० कट्ठा जग्गामा व्यावसायिक रूपमा फूलखेती गरेका हुन्।

स्थानीय बेदराज आचार्य, असिम सिग्देल र चेतन केसीले सानो लगानीबाट राम्रो आम्दानी गर्न सकिने विश्वासका साथ पुष्पखेती सुरु गरेका हुन्। उनीहरूले ‘फिट फार्म’ नामक संस्थामार्फत पहिलो अभ्यासका रूपमा फूलखेती गरेको संस्थाका सञ्चालक बेदराज आचार्यले जानकारी दिनुभयो।

‘अहिले फूलको अग्रिम बुकिङ भइरहेको छ र खुद्रा बिक्री पनि गरिरहेका छौँ,’ उहाँले भन्नुभयो।

तिहारमा फूलको माग उच्च हुने र बजारको माग भारतीय आयातित फूलले धानिरहेको उल्लेख गर्दै आचार्यले पुष्पखेतीका लागि धेरै तयारी आवश्यक नपर्ने बताउनुभयो। थोरै मेहनत र लगानीबाट राम्रो प्रतिफल प्राप्त गर्न सकिने विश्वास आफूहरूमा जागेको उहाँको भनाइ छ।

उहाँका अनुसार पानी नजम्ने जग्गा छनोट गरी चितवनबाट फूलको बीउ ल्याएर गत साउनदेखि खेती सुरु गरिएको हो। तिहारअघि नै करिब ५० हजार रुपैयाँ बराबरको फूल बिक्री भइसकेको उहाँले जानकारी दिनुभयो। स्थानीय उपभोक्ताले अग्रिम बुकिङ गरेका छन् भने बुटवल, दाङ, काठमाडौं र सुर्खेतलगायत जिल्लाबाट समेत माग आएको छ। तर, फार्मले स्थानीय उपभोक्तालाई प्राथमिकता दिएको छ।

पुष्पखेतीसँगै तरबुजा र स्ट्रबेरी खेतीलाई पनि प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको आचार्यले बताउनुभयो। कृषि विषयमा अध्ययन गरेको ज्ञानकै आधारमा खेती अघि बढाएकाले अन्य निकायसँग सहयोग माग्नुपर्ने अवस्था नआएको उहाँको भनाइ छ।

पुष्पखेतीका लागि पानी नजम्ने जग्गा छनोट गर्नुपर्ने र पानी जम्ने अवस्था भए उचित व्यवस्थापन गर्नुपर्ने उहाँले सुझाव दिनुभयो।

वर्षायाममा रोग तथा किराको व्यवस्थापन गर्दै राम्रो उत्पादन लिन सफल भएको आचार्यले बताउनुभयो। सामाजिक सञ्जालमार्फत बजारीकरण गर्दा मागसमेत आएको उहाँले जानकारी दिनुभयो। तिहारका अवसरमा नेपालगञ्जको धम्बोझीमा फूल तथा माला खुद्रा बिक्री गर्ने तयारी फार्मले गरेको छ।

यसैबीच, लुम्बिनी फ्लोरिकल्चर एसोसिएसनकी पूर्वसदस्य तथा महिला उद्यमी सङ्घ बाँकेकी महासचिव बिन्दुचर्ती मगरले जिल्लामा करिब १३ बिघा क्षेत्रफलमा फूलखेती भइरहेको जानकारी दिनुभएको छ।

उहाँले फूलको बजारीकरणलाई व्यवस्थित गर्न स्थानीय तहलाई आवश्यक नीतिनिर्माण गर्न आग्रह गर्नुभयो। जिल्लामा सयपत्री, कलकत्ते र आगा ३५५ जातका फूलखेती भइरहेको उल्लेख गर्दै उहाँले भारतीय फूलको आयात रोक्नुपर्ने धारणा राख्नुभयो।

बाँकेको नरैनापुर, खजुरा, नेपालगञ्ज र कोहलपुरमा पुष्पखेती हुँदै आएको छ।