जनता टाइम्स

१८ कार्तिक २०८३, बुधबार ०७:१३

मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो, अक्टोबरसम्म ३० हजारभन्दा बढी विदेशी पुगे


मनाङ, कात्तिक १८ । अन्नपूर्ण पदमार्गसहित मनाङ भ्रमणमा आउने भारतीय पर्यटकको आकर्षण बढ्दै गएको छ। सन् २०२६ को अक्टोबरसम्म पाँच हजार ४९ भारतीय पर्यटकले मनाङ भ्रमण गरेका छन्।

अन्नपूर्ण संरक्षण आयोजना एकाइ मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार अक्टोबरसम्म कुल ३० हजार ६६२ विदेशी पर्यटकले मनाङ भ्रमण गरेका छन्। तीमध्ये १९ हजार १४० पुरुष, ११ हजार ५१२ महिला र अन्य १० जना रहेका छन्।

आयोजनाका अनुसार मनाङ भ्रमण गर्ने पर्यटकमध्ये भारतका पाँच हजार ४९, इजरायलका दुई हजार ७६८, जर्मनीका एक हजार ९४८, चीनका एक हजार ८९९ र फ्रान्सका एक हजार ३४ जना रहेका छन्।

‘अक्टोबरसम्म ११९ देशका नागरिकले मनाङका विभिन्न स्थानको भ्रमण गरेका छन्,’ प्रमुख भुजेलले भन्नुभयो, ‘सार्क राष्ट्रका पाँच हजार ९० र अन्य देशका २५ हजार ५७२ पर्यटक यहाँको सुन्दरता अवलोकन गर्न आएका छन्।’

अर्नब चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा हिमपात भएको अवस्थामा पनि उल्लेख्य सङ्ख्यामा पर्यटक आएको उहाँले बताउनुभयो।

‘जोखिमकै अवस्थामा पनि पर्यटक मनाङको सौन्दर्य तथा प्राकृतिक र सांस्कृतिक क्षेत्रको भ्रमणमा आएका हुन्। जोखिम कम भएपछि अहिले पर्यटक गन्तव्यतर्फ पुगिसकेका छन्,’ उहाँले भन्नुभयो।

अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ र मुस्ताङको सिमानामा रहेको थोराङ्ला भञ्ज्याङ, विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल तथा हिमलुङ र मनास्लु हिमाल आरोहणका लागि पर्यटक मनाङ पुग्ने गरेका छन्।

हिमाल तथा पहाडका दृश्य, मनाङवासीको संस्कार, संस्कृति, रीतिरिवाज र प्राकृतिक सुन्दरताले पर्यटकलाई आकर्षित गर्ने गरेको छ।

विश्वका जोखिमयुक्त पदमार्गमध्ये एक मानिने अन्नपूर्ण पदमार्ग हुँदै पर्यटक मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्छन्।

अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङको बेँसीसहर नगरपालिका–७ स्थित मनाङ्गे चौताराबाट पदयात्रा सुरु हुन्छ। यस पदमार्गले लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्लालाई जोडेको छ।

काठमाडौं हुँदै सवारीसाधनमा बेँसीसहर पुग्ने पर्यटक पछिल्लो समय चामे र खाङ्सारसम्मै सवारीसाधनमा जाने गरेका छन्। त्यसपछि मात्रै उनीहरूले पदयात्रा सुरु गर्ने गरेका छन्।