जनता टाइम्स

१८ कार्तिक २०८३, बुधबार ००:०१

प्रवासी नेपाली मञ्चको अध्यक्षमा प्रभु थापाको उम्मेदवारी घोषणा : संगठन सुदृढीकरणदेखि प्रवासी अधिकारसम्मका यस्ता छन् मुख्य कार्ययोजना


काठमाडौं, कात्तिक १८ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीको आगामी नेतृत्वका लागि प्रभुराम थापाले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । लामो राजनीतिक, सांगठनिक, श्रमिक आन्दोलन तथा सामाजिक सेवाको अनुभवलाई अन्तर्राष्ट्रिय नेतृत्वमा उपयोग गर्ने उद्देश्यसहित थापाले अध्यक्ष पदमा आफ्नो दाबेदारी प्रस्तुत गर्नुभएको हो ।

नेपालमा रहँदा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मा काम गर्नुभएका थापा अमेरिकामा रहेर लामो समयदेखि प्रवासी नेपालीहरूको संगठन निर्माण र सामाजिक गतिविधिमा सक्रिय हुनुहुन्छ । थापा ओएनएफ अन्तर्राष्ट्रिय कमिटीका संस्थापक उपसचिव र हालको कमिटीमा पनि उपसचिव तथा संगठन विभागका उपप्रमुख हुनुहुन्छ । उहाँ मञ्चको संस्थापक सदस्यमध्ये एक हुनुहुन्छ ।

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ । एमाले बरिष्ठ नेता तथा पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीले उदघाटन गर्नुहुने अधिवेशन भोलिसम्म चल्नेछ । अधिवेशनले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्षमा उम्मेद्वारी घोषणा गर्नुभएका थापाले संगठनलाई एकताबद्ध, व्यवस्थित, पारदर्शी र आर्थिक रूपमा आत्मनिर्भर बनाउँदै विश्वभर छरिएर रहनुभएका नेपालीहरूको साझा आवाजका रूपमा स्थापित गर्ने कार्ययोजना अघि सार्नुभएको छ ।

लमजुङको गाउँबाट सुरु भएको राजनीतिक यात्रा

वि.सं. २०२८ सालमा लमजुङ जिल्लाको साविक मोहोरिया, हाल राइनास नगरपालिका–९ मा जन्मिनुभएका प्रभुराम थापा विद्यार्थी जीवनदेखि नै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आउनुभएको छ । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएका थापा खेलकुद क्षेत्रमा पनि परिचित हुनुहुन्छ । उहाँ करातेका दोस्रो डान ब्ल्याक बेल्ट हुनुहुन्छ भने नेपाल आइकिडो राष्ट्रिय संघका संस्थापक उपाध्यक्षसमेत हुनुहुन्छ ।

उहाँको राजनीतिक यात्रा बाल्यकालदेखि नै सामाजिक विभेद, अन्याय र श्रमिकका समस्याविरुद्ध आवाज उठाउँदै अघि बढेको देखिन्छ । वि.सं. २०३९ सालदेखि अनेरास्ववियुमा आबद्ध भएर विद्यार्थी राजनीतिमा सक्रिय हुनुभएका उहाँ क्रमशः ट्रेड युनियन आन्दोलन र पार्टीको संगठनात्मक गतिविधिमा स्थापित हुँदै जानुभयो ।

वि.सं. २०४७ सालमा प्रतिष्ठानस्तरीय ट्रेड युनियनको अध्यक्ष निर्वाचित हुनुभएका थापा वि.सं. २०५१ सालमा नेपाल स्वास्थ्य स्वयंसेवी होमियोप्याथिक मजदुर युनियन (नेस्वाहोमयू) को केन्द्रीय सदस्य बन्नुभएको थियो। त्यसपछि संगठनको सहसचिव, सचिव हुँदै जिफन्ट राष्ट्रिय परिषद् सदस्यको जिम्मेवारीसमेत निर्वाह गर्नुभयो।

आन्दोलन र संघर्षबाट खारिएको राजनीतिक अनुभव

थापाको राजनीतिक जीवन संगठनात्मक जिम्मेवारीमा मात्रै सीमित रहेन। पञ्चायतविरोधी आन्दोलन, २०४५÷४६ को जनआन्दोलन, कर्मचारी आन्दोलन तथा विभिन्न राजनीतिक संघर्षमा उहाँको सक्रिय सहभागिता रह्यो।

२०६२÷६३ को ऐतिहासिक जनआन्दोलनका क्रममा काठमाडौंको गोंगबुमा सुरक्षाकर्मीको गोली लागेर उहाँ घाइते हुनुभएको थियो । आन्दोलनका क्रममा पटक–पटक घाइते तथा गिरफ्तारसमेत हुनुभएका थापाले आफ्नो राजनीतिक जीवनको महत्वपूर्ण समय लोकतान्त्रिक आन्दोलन र संगठन निर्माणमा बिताउनुभएको छ।

विद्यार्थी आन्दोलनदेखि ट्रेड युनियनसम्मको अनुभवले श्रमिक अधिकार, सामाजिक न्याय र संगठनात्मक एकतालाई आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण आधार बनाएको उहाँको जीवनपरिचयमा उल्लेख छ।

अमेरिकामा संगठन निर्माणदेखि अन्तर्राष्ट्रिय नेतृत्वसम्म

सन् २००८ देखि अमेरिकामा रहेर राजनीतिक तथा संगठनात्मक गतिविधिमा सक्रिय हुनुभएका थापाले त्यहाँ प्रवासी नेपालीहरूलाई संगठित गर्ने अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । उहाँ यूएनडीएफको डीसी मेट्रो कमिटी सचिवालय सदस्यका रूपमा काम गर्नुभएको थियो ।

सन् २०१३ मा प्रवासी नेपाली मञ्च अमेरिकाको पहिलो राष्ट्रिय अधिवेशनबाट सचिव निर्वाचित हुनुभएका थापा सन् २०१७ को राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनुभएको थियो। उहाँले प्रवासी नेपाली एकता मञ्च अमेरिका तथा प्रवासी नेपाली मञ्च अमेरिकाको राष्ट्रिय कमिटी अध्यक्षको जिम्मेवारीसमेत सम्हाल्नुभएको छ।

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका संस्थापक सदस्यमध्ये एक रहनुभएका थापाले अमेरिका महादेश इन्चार्ज तथा प्रचार विभाग प्रमुखको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ। संगठनको पहिलो ऐतिहासिक अन्तर्राष्ट्रिय अधिवेशनमा एकता र सर्वसम्मत नेतृत्व चयनका लागि सहमति निर्माणमा समेत उहाँले भूमिका खेल्नुभएको थियो ।

हाल उहाँ अन्तर्राष्ट्रिय कमिटीको उपसचिव तथा संगठन विभाग उपप्रमुखका रूपमा कार्यरत हुनुहुन्छ । दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनको तयारी तथा संगठनात्मक गतिविधिमा पनि उहाँको सक्रिय भूमिका रहँदै आएको छ।

व्यवसायसँगै सामाजिक सेवामा सक्रिय

राजनीतिक तथा संगठनात्मक गतिविधिका अतिरिक्त थापा व्यावसायिक र सामाजिक क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ। नेपालमा रेस्टुरेन्ट तथा विद्यालय सञ्चालन गरेको अनुभव रहनुभएका उहाँ हाल अमेरिकामा आफ्नै व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ।

सामाजिक क्षेत्रमा उहाँ बाना (बाल्टिमोर एसोसिएसन अफ नेपालीज इन अमेरिका) बोर्ड अफ ट्रस्टीका अध्यक्ष, लायन्स क्लब्स इन्टरनेसनलअन्तर्गत बाल्टिमोर नेप्लिज क्लबका प्रथम उपाध्यक्ष तथा भिजन क्लब इन्टरनेसनलका निर्देशकका रूपमा आबद्ध हुनुहुन्छ।

त्यसैगरी ब्लड डोनर एसोसिएसनका आजीवन सदस्य, जिफन्ट सपोर्ट ग्रुप अमेरिकाका प्रमुख सल्लाहकार र लमजुङ अमेरिका सेवा समाजका प्रमुख सल्लाहकारको जिम्मेवारीसमेत निर्वाह गर्दै आउनुभएको छ।

खेलकुद, श्रमिक संगठन, प्रवासी नेपाली समुदाय र सामाजिक सेवाका विभिन्न क्षेत्रमा जोडिएर काम गर्दै आउनुभएका थापाले आफ्नो अनुभवलाई अब अन्तर्राष्ट्रिय संगठनको संस्थागत विकासमा केन्द्रित गर्ने बताउनुभएको छ।

अध्यक्ष निर्वाचित भएमा १० प्राथमिकतामा काम गर्ने प्रतिबद्धता

अध्यक्ष पदमा निर्वाचित भएमा आगामी चार वर्षभित्र संगठनको संस्थागत विकास र प्रवासी नेपालीका साझा सवाललाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता थापाले व्यक्त गर्नुभएको छ।

पदभन्दा जिम्मेवारी र व्यक्तिगत स्वार्थभन्दा संगठनको एकता प्राथमिकता

थापाले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पद प्राप्तिभन्दा पनि संगठनको संस्थागत विकास, एकता र प्रवासी नेपालीका साझा मुद्दालाई प्रभावकारी रूपमा उठाउने अभियानका रूपमा प्रस्तुत गर्नुभएको छ।

विद्यार्थी राजनीतिदेखि ट्रेड युनियन आन्दोलन, प्रवासी संगठन निर्माण र सामाजिक सेवासम्मको अनुभवलाई अन्तर्राष्ट्रिय कमिटीको नेतृत्वमा उपयोग गर्ने उहाँको भनाइ छ।

विश्वका विभिन्न मुलुकमा रहनुभएका नेपाली श्रमिक, व्यवसायी, विद्यार्थी तथा नयाँ पुस्ताका प्रवासी नेपालीलाई एउटै संगठनात्मक संरचनामा जोड्दै उहाँहरूका समस्या समाधानका लागि प्रभावकारी भूमिका खेल्ने लक्ष्य थापाले अघि सार्नुभएको छ।

आगामी अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै संगठनको आगामी चार वर्षको कार्यदिशासमेत तय गर्ने भएकाले थापाले अघि सार्नुभएका प्रतिबद्धता र कार्ययोजनालाई प्रतिनिधिहरूले कसरी मूल्यांकन गर्छन् भन्ने विषय चासोको रूपमा रहेको छ।

संगठनको एकता, संस्थागत पारदर्शिता, प्रवासी नेपालीको अधिकार र मातृभूमिको समृद्धिमा प्रवासको ज्ञान, सीप तथा पुँजी परिचालनलाई आफ्नो नेतृत्वको मुख्य आधार बनाउनुभएका थापाको अध्यक्ष पदको उम्मेदवारीले ओएनएफको आगामी नेतृत्व चयनलाई थप प्रतिस्पर्धात्मक बनाएको छ।

यस्ता छन प्रमुख कार्ययोजना

१. संगठन विस्तार र सुदृढीकरण ः विश्वभरका राष्ट्रिय तथा महादेशीय कमिटीलाई व्यवस्थित र प्रभावकारी बनाउँदै नयाँ पुस्ता, श्रमिक, व्यवसायी, विद्यार्थी तथा बुद्धिजीवीलाई संगठनमा जोड्ने।

२. आफ्नै भवन निर्माण तथा खरिद ः प्रवासी नेपाली मञ्चको संस्थागत कार्यालयका लागि आफ्नै भवन खरिद गर्ने र संगठनलाई दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउने।

३. कानुनी दर्ता र संस्थागत पारदर्शिता ः अन्तर्राष्ट्रिय, महादेशीय तथा राष्ट्रिय कमिटीलाई सम्बन्धित देशको कानुनअनुसार दर्ता गर्ने पहल गर्दै आर्थिक पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने।

४. श्रमिक अधिकारको संरक्षण ः नेपाल तथा विदेशमा रहनुभएका नेपाली श्रमिकको उचित पारिश्रमिक, रोजगारीको सुरक्षा, सामाजिक संरक्षण र सुरक्षित कार्यस्थलका लागि प्रभावकारी पैरवी गर्ने।

५. वंशजको नेपाली नागरिकताको निरन्तरता ः वंशजका आधारमा प्राप्त नेपाली नागरिकताको निरन्तरता र त्यससँग जोडिएका अधिकार संरक्षणका लागि नीतिगत पहल गर्ने।

६. प्रवासी नेपालीको मतदान अधिकार ः विदेशमा रहनुभएका नेपाली नागरिकलाई नेपालको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायसँग पहल गर्ने।

७. नेपाली भाषा, कला र संस्कृतिको संरक्षण ः विदेशमा जन्मिएका तथा हुर्किएका नयाँ पुस्तालाई नेपाली भाषा, संस्कृति, कला र मौलिक पहिचानसँग जोड्ने।

८. प्रवासको ज्ञान, सीप र पुँजी नेपालमा परिचालन ः विदेशमा आर्जित ज्ञान, सीप, प्रविधि र पुँजीलाई नेपालको आर्थिक तथा सामाजिक विकाससँग जोड्ने वातावरण निर्माणका लागि पहल गर्ने।

९. युवा नेतृत्व विकास ः नयाँ पुस्तालाई संगठनमा आकर्षित गर्दै राजनीतिक तथा सांगठनिक प्रशिक्षण, नेतृत्व विकास र निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने।

१०. सामूहिक नेतृत्व र आर्थिक पारदर्शिता ः संगठनको आर्थिक तथा सांगठनिक प्रतिवेदन नियमित सार्वजनिक गर्ने, विधि र विधानअनुसार निर्णय प्रणाली सञ्चालन गर्ने र नेतृत्वलाई सदस्यहरूप्रति जवाफदेही बनाउने।