काठमाडौं, कात्तिक १८ । डोल्पा जिल्ला कारागारबाट फरार भएका आठ जना कैदीबन्दीमध्ये थप दुई जना पक्राउ परेका छन्। बुधबार बिहान पक्राउ परेका दुई जनासँगै हालसम्म पक्राउ पर्ने कैदीबन्दीको संख्या चार पुगेको छ।
डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार बुधबार बिहान ३ बजे डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ बाट दुई जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–७ का कालिप्रसाद रोकाय र जाजरकोटको नलगाड नगरपालिका–९ का कपिल परियार रहेका छन्।
यसअघि मंगलबार रुकुम पश्चिमबाट थप दुई जना पक्राउ परेका थिए। पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का रेशम राना रहेका छन्।
कारागारबाट फरार भएकामध्ये अब चार जना पक्राउ पर्न बाँकी छन्। फरार रहेका चार जनामा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ का हरिबहादुर बुढा, जाजरकोटको बारेकोट गाउँपालिका–१ का यज्ञ विक तथा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का तिलक भण्डारी र वडा नम्बर ३ का आदेश भण्डारी रहेका छन्।
गत कात्तिक १४ गते राति जिल्ला कारागारको भित्री पर्खाल र बाहिरी कम्पाउन्डमा सुरुङ खनेर आठ जना कैदीबन्दी फरार भएका थिए।
फरार कैदीबन्दीको खोजी तथा पक्राउका लागि प्रहरीले विभिन्न क्षेत्रमा टोली परिचालन गरी खोजी अभियान जारी राखेको छ।














प्रतिक्रिया दिनुहोस्