जनता टाइम्स

१८ कार्तिक २०८३, बुधबार ०९:४८

संसद् छल्ने र प्रेसमाथि दबाब सिर्जना गर्ने प्रयास मान्य हुँदैन : एमाले सचिव महेश बस्नेत


काठमाडौं, कात्तिक १८ । नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारको कार्यशैली, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संसद्लाई छलेर अध्यादेश ल्याउने प्रयासप्रति आपत्ति जनाउनुभएको छ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सचिव बस्नेतले पत्रकार तथा सञ्चारमाध्यममाथि दबाब सिर्जना गर्ने, पत्रकारलाई कानुनी आधारबिना पक्राउ गर्ने र सञ्चारमाध्यमका कार्यालयअगाडि गाडी तेर्स्याउनेजस्ता गतिविधि लोकतान्त्रिक मूल्य र मान्यता विपरीत रहेको टिप्पणी गर्नुभएको छ।

उहाँले भन्नुभएको छ, “कहिले पत्रकार र सञ्चारमाध्यमका कार्यालयअगाडि गाडी तेर्स्याउने, कहिले पत्रकारलाई बिना कानुनी आधार पक्राउ गर्ने र अहिले चलिरहेका सदन बन्द गरेर संसद्लाई छलेर अध्यादेश ल्याउने ?”

प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने नभई संविधान र लोकतान्त्रिक मूल्य, मान्यताको सम्मान गर्ने शासन आवश्यक रहेको उल्लेख गर्दै बस्नेतले संसद् छल्ने र प्रेसमाथि दबाब सिर्जना गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने धारणा व्यक्त गर्नुभएको छ।

यसैबीच, सचिव बस्नेतले फेसबुकमै अर्को पोस्ट गर्दै गत भदौ २३ र २४ गतेको घटनापछि मुलुकको राजनीतिक परिस्थितिमा नयाँ समीकरण र संवादको आवश्यकता महसुस हुन थालेको दाबी गर्नुभएको छ।

उहाँका अनुसार उक्त घटनाले नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई मात्रै कमजोर बनाउँछ भन्ने बुझाइमा रहेका नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित उद्योगी, व्यवसायी, कर्मचारी तथा शिक्षकहरू अहिले साझा चिन्तासहित संवाद र सहकार्यको बाटोमा अघि बढ्न थालेका छन्।

बस्नेतले २३–२४ पछिको राजनीतिक घटनाक्रम, देशी तथा विदेशी हस्तक्षेप र राज्यका संस्थागत संरचनामाथि परेको दबाबले मुलुकको भविष्यप्रति विभिन्न पक्षलाई गम्भीर बनाएको उल्लेख गर्नुभएको छ।

व्यक्तिगत तथा दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हित, लोकतान्त्रिक व्यवस्था र संस्थागत स्थायित्वका विषयमा साझा दृष्टिकोण निर्माण गर्ने प्रयास सुरु हुनु सकारात्मक पक्ष भएको उहाँको भनाइ छ। ‘अब व्यक्तिगत र दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हित, लोकतान्त्रिक व्यवस्था र संस्थागत स्थायित्वका विषयमा साझा दृष्टिकोण बनाउने प्रयास सुरु भएको छ, यो राम्रो पक्ष हो’, उहाँले लेख्नु भएको छ ।