जनता टाइम्स

१० मंसिर २०८३, बिहिबार ०८:३८

हसीनाको स्वदेश फिर्तीअघि बङ्गलादेशमा दुईदिने बन्दको घोषणा


काठमाडौँ, मङ्सिर १० । पूर्वप्रधानमन्त्री शेख हसीनाको सम्भावित स्वदेश फिर्तीलाई लिएर बङ्गलादेशमा राजनीतिक तनाव बढेको छ। हसीनाको पार्टी अवामी लिगले आगामी नोभेम्बर २७ र २८ तारिखमा देशव्यापी दुईदिने बन्दको घोषणा गरेको छ।

पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउनुपर्ने, राजनीतिक बन्दीहरूलाई रिहा गर्नुपर्ने लगायत आठवटा माग राख्दै अवामी लिगले आन्दोलनको आह्वान गरेको हो।

हसीनाको सम्भावित फिर्ती र त्यसबाट उत्पन्न हुन सक्ने हिंसालाई मध्यनजर गर्दै सरकारले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ। तारिक रहमान नेतृत्वको सरकारले सीमावर्ती सात जिल्लामा बोर्डर गार्ड बङ्गलादेश (बीजीबी) का १०८ वटा टुकडी परिचालन गरेको छ।

सुरक्षा निकायले ड्रोन, बडी क्यामेरा र अन्य आधुनिक निगरानी उपकरणमार्फत सीमा क्षेत्रमा निगरानी बढाएका छन्। प्रहरीले गस्ती तीव्र पार्नुका साथै विभिन्न स्थानमा जाँच चौकी स्थापना गरी शङ्कास्पद सवारीसाधनको खानतलासी गरिरहेको छ। सीमासँग जोडिएका ३० जिल्लामा पनि संवेदनशील मार्गमा विशेष सतर्कता अपनाउन निर्देशन दिइएको छ।

यसैबीच, बङ्गलादेशमा हिंसात्मक घटना बढेका छन्। अन्तरिम सरकारका पूर्वप्रमुख मुहम्मद युनूसद्वारा स्थापित ग्रामीण बैंकका शाखाहरूलाई लक्षित गरी आक्रमण भइरहेका छन्। बैंकको नोभेम्बर २४ को आन्तरिक प्रतिवेदनअनुसार नोभेम्बर १० देखि देशभर करिब १०० वटा शाखामाथि आक्रमण भएका छन्।

बङ्गलादेशका गृहमन्त्री सलाहुद्दीन अहमदले अवामी लिगलाई अब राजनीति गर्न नदिइने र पार्टीमाथिको प्रतिबन्ध स्थायी बनाइने बताउनुभएको छ। उहाँले कूटनीतिक सम्झौताका विषयमा नयाँदिल्लीसँग छलफल भइरहेको जानकारीसमेत दिनुभएको छ।

यसैबीच, पूर्वप्रधानमन्त्री हसीनाले आगामी डिसेम्बर १६ मा स्वदेश फर्किने योजना सार्वजनिक गर्नुभएको छ। उहाँले आफ्नो फिर्तीका लागि सरकारले विमान पठाउनुपर्ने मागसमेत गर्नुभएको छ।

समाचार संस्था रोयटर्सका अनुसार हसीनाका प्रवक्ता सैयद मोजम्मेल अलीले मङ्गलबार हसीना सरकारी वायुसेवा कम्पनी ‘विमान बङ्गलादेश’ को उडानमार्फत नयाँदिल्लीबाट ढाका फर्किन चाहेको जानकारी दिनुभएको थियो।

सन् १९७१ डिसेम्बर १६ मा बङ्गलादेशले पाकिस्तानविरुद्धको मुक्ति सङ्ग्राममा विजय हासिल गरेको थियो। सोही दिनलाई बङ्गलादेशले विजय दिवसका रूपमा मनाउँदै आएको छ।