जनता टाइम्स

१० मंसिर २०८३, बिहिबार ०८:४३

बागमती प्रदेशस्तरीय नवप्रवर्तन उद्यमी सम्मानबाट अरनिको कृषि तथा पशुपालन फर्म सम्मानित


सिन्धुपाल्चोक, मङ्सिर १० । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्म बागमती प्रदेशस्तरीय नवप्रवर्तन उद्यमी सम्मानबाट सम्मानित भएको छ।

उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय, बागमती प्रदेशले आयोजना गरेको १२औँ उद्योग दिवस तथा नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रममा फर्मले ७१ अङ्क प्राप्त गर्दै प्रदेशमै दोस्रो स्थान हासिल गरेको हो।

फर्मलाई ‘जिल्लाको उत्कृष्ट उद्यमी’ पुरस्कारसहित ७५ हजार रुपैयाँ प्रदान गरिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले फर्मका अध्यक्ष शारदा घलेलाई सम्मान गर्नुभएको हो।

अरनिको कृषि तथा पशुपालन फर्मले विशेष कफी उत्पादन, स्थानीय कृषि उपज, कृषि पर्यटन, आतिथ्य सत्कार तथा सीप विकासका क्षेत्रमा काम गर्दै आएको छ। फर्मले स्थानीय किसान र उत्पादनलाई प्रोत्साहन गर्दै उद्यमशीलताको विकासमा योगदान पुर्‍याउँदै आएको छ।

प्रदेशस्तरमै दोस्रो स्थान हासिल गरेकोमा खुसी व्यक्त गर्दै सञ्चालक घलेले यो उपलब्धि किसान, कर्मचारी, साझेदार, ग्राहक तथा आफ्नो अभियानमा विश्वास गर्ने सबैप्रति समर्पित गर्नुभएको छ।

उहाँले सम्मानले थप मेहनत गर्न, नयाँ अवसर सिर्जना गर्न र स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन प्रेरणा मिलेको बताउनुभएको छ।