जनता टाइम्स

१० मंसिर २०८३, बिहिबार ०८:१२

१६ दिनको अभियान, ३६५ दिनकै चुनौती : कहिले अन्त्य हुन्छ लैङ्गिक हिंसा ?


नवराज पथिक 

काठमाडौं, मंसिर १० । समाजमा लिङ्गकाे आधारमा हुने हिंसा केवल शारीरिक आक्रमणमा सीमित छैन । मानसिक यातना, यौन दुर्व्यवहार, आर्थिक शोषण, घरेलु हिंसा, दाइजो प्रथा, बालविवाह, मानव बेचबिखन, कार्यस्थलमा हुने दुर्व्यवहारदेखि सामाजिक सञ्जालमार्फत गरिने चरित्रहत्या र साइबर हिंसासम्म यसका अनेक रूप छन् । यस्ता हिंसाले व्यक्तिको आत्मसम्मान र स्वतन्त्रता मात्र खोस्दैनन्, समाजको न्याय, समानता र सभ्यतामाथि नै प्रश्न खडा गर्छन् ।

यही हिंसाविरुद्ध चेतना जगाउने, पीडितलाई न्यायको पहुँचमा पुर्‍याउने र राज्यलाई जवाफदेही बनाउने उद्देश्यसहित हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिन्छ । यस वर्ष पनि नोभेम्बर २५ अर्थात् मंसिर ९ गतेदेखि अभियान सुरु भएको छ ।

यो अभियान केवल नाराबाजी, र्‍याली, गोष्ठी र औपचारिक कार्यक्रमको शृङ्खला होइन । यो सबै मानिसहरुले हिंसारहित जीवन बाँच्न पाउने अधिकारको स्मरण गराउने र त्यसका लागि परिवार, समाज, राज्य तथा अन्तर्राष्ट्रिय समुदायलाई जिम्मेवार बनाउने विश्वव्यापी अभियान हो ।

तर प्रश्न उठ्छ– आखिर यो अभियानको सुरुवात कसरी भयो ? कसरी यसले अन्तर्राष्ट्रिय मान्यता पायो ? नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक परिवेशमा यसको अर्थ र महत्त्व के छ ? अनि १६ दिनको अभियानलाई वर्षभरि अनुभूत हुने परिवर्तनमा कसरी बदल्न सकिन्छ ?

हत्या गरिएका तीन दिदीबहिनीको सम्झनाबाट सुरु भएको अभियान

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको इतिहास निकै अर्थपूर्ण र संघर्षपूर्ण छ । यसको जरा सन् १९६० को डोमिनिकन गणतन्त्रको एउटा दर्दनाक राजनीतिक घटनासँग जोडिएको छ ।

त्यतिबेला डोमिनिकन गणतन्त्रमा राफेल त्रुजिलोको निरंकुश शासन थियो । उक्त शासनको विरोधमा सक्रिय तीन दिदीबहिनी पेट्रिया, मिनर्भा र मारिया टेरेसा मिराबलको सन् १९६० नोभेम्बर २५ मा हत्या गरिएको थियो । राजनीतिक स्वतन्त्रता र न्यायका पक्षमा उभिएका उनीहरूको हत्याले विश्वभर महिला अधिकारकर्मीलाई आन्दोलित बनायो ।

तीनै दिदीबहिनीको संघर्ष र बलिदानको सम्मानमा सन् १९८१ मा ल्याटिन अमेरिका तथा क्यारिबियन क्षेत्रका महिला अधिकारकर्मीहरूले नोभेम्बर २५ लाई महिलामाथि हुने हिंसाविरुद्धको दिवसका रूपमा मनाउने निर्णय गरे ।

यसले महिलामाथिको हिंसा कुनै व्यक्तिगत वा पारिवारिक मामिला मात्र नभई मानवअधिकारको गम्भीर उल्लङ्घन हो भन्ने सन्देश विश्वभर फैलाउन महत्त्वपूर्ण भूमिका खेल्यो ।

कसरी बन्यो १६ दिने अन्तर्राष्ट्रिय अभियान ?

सन् १९९१ मा अमेरिकाको सेन्टर फर वुमन्स ग्लोबल लिडरसिप (CWGL) को पहलमा पहिलो महिला विश्वव्यापी नेतृत्व संस्थानमा सहभागी २० देशका २३ महिला अधिकारकर्मीले नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म १६ दिने अभियान सञ्चालन गर्ने प्रस्ताव अघि सारे ।

त्यसपछि सन् १९९१ नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म पहिलोपटक यो अभियान सञ्चालन गरियो । यस अभियानले महिला हिंसालाई मानवअधिकारसँग जोडेर हेर्नुपर्ने अवधारणालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्‍यायो ।

यी १६ दिन छनोट गर्नुका पछाडि पनि विशेष कारण छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अवधिमा पर्ने ८ वटा अन्तर्राष्ट्रिय दिवस र मिति :

1. नोभेम्बर २५ – महिला हिंसा उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस।

2. नोभेम्बर २९ – महिला मानव अधिकार रक्षक दिवस।

3. डिसेम्बर १ – विश्व एड्स दिवस।

4. डिसेम्बर २ – दासत्व उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस।

5. डिसेम्बर ३ – अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस।

6. डिसेम्बर ५ – अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस।

7. डिसेम्बर ९ – अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवस।

8. डिसेम्बर १० – अन्तर्राष्ट्रिय मानव अधिकार दिवस।

यसरी महिलामाथि हुने हिंसा, विभिन्न लक्षित समुदायकाे अधिकार तथा स्वास्थ्य अधिकार, महिला स्वतन्त्रता र समग्र मानवअधिकारलाई एउटै अभियानमा जोडिएको हो ।

यस अभियानले अन्तर्राष्ट्रिय मान्यता पाउने अर्को महत्त्वपूर्ण आधार संयुक्त राष्ट्रसंघको पहल बन्यो । संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९३ डिसेम्बर २० मा प्रस्ताव नम्बर ४८/१०४ मार्फत महिलामाथि हुने हिंसा उन्मूलनसम्बन्धी घोषणा पारित गर्‍यो ।

त्यसपछि सन् १९९९ डिसेम्बर १७ मा महासभाले प्रस्ताव नम्बर ५४/१३४ पारित गर्दै नोभेम्बर २५ लाई औपचारिक रूपमा ‘महिलामाथि हुने हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस’ घोषणा गर्‍यो । उक्त निर्णय सन् २००० फेब्रुअरी ७ मा सार्वजनिक गरिएको थियो ।

यसले नोभेम्बर २५ लाई संयुक्त राष्ट्रसंघको औपचारिक अन्तर्राष्ट्रिय दिवसका रूपमा स्थापित गर्‍यो । १६ दिने अभियान भने नागरिक समाज र महिला अधिकारकर्मीबाट सुरु भएको विश्वव्यापी अभियानका रूपमा निरन्तर विस्तार हुँदै गयो ।

नेपालको राजनीतिक परिवेशमा अभियानको महत्त्व

नेपालमा लैङ्गिक हिंसाविरुद्धको अभियानको महत्त्व केवल सामाजिक चेतना अभिवृद्धिमा सीमित छैन । यसको गहिरो राजनीतिक अर्थ पनि छ ।

नेपालको संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा स्थापित गरेको छ । संविधानको धारा ३८ ले महिलाको हक सुनिश्चित गर्दै महिलाविरुद्ध शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै प्रकारको हिंसाजन्य कार्य वा शोषणलाई दण्डनीय मानेको छ ।

त्यस्तै, राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा महिलाको सहभागिताको व्यवस्था पनि गरिएको छ ।

नेपालले सन् १९९१ मा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि (CEDAW) अनुमोदन गरिसकेको छ । यसले महिलामाथिको विभेद र हिंसा अन्त्य गर्न नेपाललाई अन्तर्राष्ट्रिय प्रतिबद्धतासमेत प्रदान गरेको छ ।

घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ र कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) ऐन, २०७१ लगायतका कानुनी व्यवस्थाले हिंसाविरुद्धको कानुनी आधार निर्माण गरेका छन् ।

तर कानुन निर्माण हुँदैमा हिंसा अन्त्य हुँदैन । कानुन कार्यान्वयन गर्ने निकाय कति जिम्मेवार छन्, पीडितले न्याय पाउन कति सहज छ र राजनीतिक नेतृत्वले यस विषयलाई कति प्राथमिकता दिन्छ भन्ने कुराले वास्तविक परिवर्तन निर्धारण गर्छ ।

राजनीतिक दलभित्र महिलाको सहभागिता, नेतृत्व तहमा उनीहरूको प्रतिनिधित्व, निर्वाचनमा महिला उम्मेदवारले भोग्ने चुनौती, सार्वजनिक पदमा महिलामाथि हुने चरित्रहत्या र राजनीतिक हिंसाका विषय पनि यस अभियानका महत्त्वपूर्ण सवाल हुन् ।

राजनीतिमा महिला र अन्य पछाडि पारिएका समुदायकाे उपस्थिति बढाउनु मात्र पर्याप्त छैन । उनीहरूले स्वतन्त्रतापूर्वक निर्णय गर्न पाउने, नेतृत्व गर्न पाउने र हिंसा तथा अपमानको भयबिना सार्वजनिक जीवनमा सक्रिय हुन पाउने वातावरण निर्माण गर्नु पनि उत्तिकै आवश्यक छ ।

सामाजिक र सांस्कृतिक जरा नउखेली हिंसा अन्त्य हुँदैन

नेपालमा लैङ्गिक हिंसाको एउटा प्रमुख जरा पितृसत्तात्मक सामाजिक संरचना र त्यसबाट विकसित विभेदकारी सोच हो ।

छोरा र छोरीबीच गरिने विभेद, छोरीलाई परनिर्भर ठान्ने प्रवृत्ति, महिलाले घरको काम मात्र गर्नुपर्छ भन्ने मान्यता, दाइजो प्रथा, बालविवाह, छाउपडी, बोक्सीको आरोप र महिलाको स्वतन्त्रतामाथि लगाइने सामाजिक बन्देज यसका उदाहरण हुन् ।

कतिपय अवस्थामा हिंसालाई परिवारको आन्तरिक मामिला भन्दै लुकाइन्छ । कुटपिट, मानसिक यातना दिनु, शिक्षाबाट वञ्चित गर्नु वा महिलाको आर्थिक स्वतन्त्रता नियन्त्रण गर्नु सामान्य पारिवारिक व्यवहारका रूपमा स्वीकार गरिन्छ । यही सामाजिक स्वीकृतिले हिंसालाई निरन्तरता दिइरहेको छ ।

अझ जातीय, वर्गीय, भौगोलिक र अपाङ्गतासम्बन्धी विभेदले कतिपय महिलालाई थप जोखिममा पारेको छ । दलित महिला, आदिवासी जनजाति महिला, मधेसी महिला, अपाङ्गता भएका महिला, दुर्गम क्षेत्रका महिला तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिले हिंसासँगै न्याय र सेवामा पहुँचको थप चुनौती सामना गर्नुपर्ने अवस्था छ ।

त्यसैले लैङ्गिक हिंसाविरुद्धको अभियानलाई महिला र पुरुषबीचको सम्बन्धमा मात्र सीमित राख्नु हुँदैन । यसलाई सामाजिक न्याय, समान अवसर, मानव मर्यादा र विभेदरहित समाज निर्माणको अभियानका रूपमा बुझ्नुपर्छ ।

तथ्याङ्कले देखाउँछ, समस्या अझै गम्भीर छ

नेपालमा कानुनी तथा संस्थागत प्रयास भइरहे पनि महिलामाथिको हिंसाको अवस्था चिन्ताजनक छ ।

संयुक्त राष्ट्रसंघले सन् २०२६ नोभेम्बर २५ मा सार्वजनिक गरेको विवरणअनुसार नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ का आधारमा १५ देखि ४९ वर्ष उमेर समूहका २३ प्रतिशत महिलाले १५ वर्षको उमेरपछि शारीरिक हिंसा भोगेका छन् । त्यस्तै, ८ प्रतिशतले यौन हिंसा अनुभव गरेका छन् ।

अझ चिन्ताजनक तथ्य के छ भने शारीरिक वा यौन हिंसा भोगेका महिलामध्ये ५८ प्रतिशतले न त कसैसँग सहयोग मागेका छन्, न त आफ्नो अनुभव कसैलाई सुनाएका छन् ।

यसले हिंसाका घटना हुनु मात्र समस्या होइन, पीडितले खुलेर बोल्न नसक्ने सामाजिक वातावरण पनि उत्तिकै ठूलो समस्या रहेको देखाउँछ ।

हिंसा सहन बाध्य हुनु, परिवारको इज्जत जाने डर, आर्थिक परनिर्भरता, बालबालिकाको भविष्यको चिन्ता, सामाजिक बहिष्कारको भय र न्याय प्रणालीप्रतिको अविश्वासले धेरै पीडितलाई मौन बस्न बाध्य बनाएको छ ।

त्यसैले हिंसाविरुद्धको अभियानले पीडितलाई बोल्न प्रेरित गर्ने मात्र होइन, उनीहरूको कुरा सुन्ने, विश्वास गर्ने र न्याय दिलाउने वातावरण निर्माण गर्नुपर्छ ।

अभियानलाई कसरी सार्थक बनाउन सकिन्छ ?

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई सार्थक बनाउन सबैभन्दा पहिले यसलाई औपचारिक कार्यक्रमको सीमाबाट बाहिर निकाल्नुपर्छ । र्‍याली, भाषण, गोष्ठी र सचेतनामूलक पोस्टर आवश्यक छन्, तर यतिले मात्र हिंसाको संरचनात्मक समस्या समाधान हुँदैन । यसका लागि केही महत्त्वपूर्ण काम गर्न सकिन्छ ।

१. परिवारबाटै समानताको संस्कार सुरु गर्ने : छोरा र छोरीबीच समान व्यवहार, घरायसी कामको समान बाँडफाँट, छोरीको शिक्षा र निर्णय गर्ने अधिकार सुनिश्चित गर्नुपर्छ । बालबालिकालाई सानैदेखि एकअर्काको सम्मान गर्न सिकाउनुपर्छ ।

२. विद्यालयको पाठ्यक्रम र शिक्षण पद्धतिमा परिवर्तन : लैङ्गिक समानता, यौन तथा प्रजनन स्वास्थ्य, व्यक्तिगत सीमा, सहमति र मानवअधिकारका विषयलाई व्यवहारिक रूपमा सिकाउनुपर्छ । विद्यालयलाई हिंसारहित र सुरक्षित क्षेत्र बनाउनुपर्छ ।

३. कानुनको प्रभावकारी कार्यान्वयन : हिंसाका घटनामा राजनीतिक दबाब, सामाजिक प्रतिष्ठा वा आर्थिक प्रभावका आधारमा उन्मुक्ति दिने प्रवृत्ति अन्त्य गर्नुपर्छ । अनुसन्धान निष्पक्ष, छिटो र पीडितमैत्री हुनुपर्छ ।

४. पीडितको सुरक्षा र पुनःस्थापना : हिंसा भोगेका व्यक्तिलाई सुरक्षित आवास, निःशुल्क कानुनी सहायता, स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श र आर्थिक पुनःस्थापनाको व्यवस्था गर्नुपर्छ ।

५. महिलाको आर्थिक आत्मनिर्भरता : शिक्षा, रोजगारी, उद्यमशीलता र सम्पत्तिमाथिको पहुँच बढाउनुपर्छ । आर्थिक रूपमा आत्मनिर्भर महिलाले हिंसापूर्ण सम्बन्धबाट बाहिर निस्कने सम्भावना पनि बढ्छ ।

६. डिजिटल हिंसाविरुद्ध प्रभावकारी कदम : सामाजिक सञ्जालमा हुने यौन दुर्व्यवहार, धम्की, चरित्रहत्या, निजी तस्बिर तथा सामग्रीको दुरुपयोग र साइबर उत्पीडन नियन्त्रण गर्न कानुनी तथा प्राविधिक क्षमता बढाउनुपर्छ ।

७. पुरुष र बालकको अर्थपूर्ण सहभागिता : लैङ्गिक हिंसा महिलाको मात्र समस्या होइन । पुरुष र बालकलाई पनि समानता, सम्मान, सहमति र अहिंसात्मक व्यवहारको पक्षमा उभ्याउनुपर्छ ।

८. स्थानीय तहलाई जवाफदेही बनाउने : प्रत्येक स्थानीय तहले हिंसाविरुद्धको कार्ययोजना, पर्याप्त बजेट, सुरक्षित आश्रय, उद्धार तथा पुनःस्थापना संयन्त्र र प्रभावकारी अनुगमनको व्यवस्था गर्नुपर्छ ।

१६ दिनपछि के हुन्छ ?

यो अभियानको सबैभन्दा ठूलो चुनौती यही हो । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सरकारी तथा गैरसरकारी संस्थाले विभिन्न कार्यक्रम आयोजना गर्छन् । भवन र ऐतिहासिक सम्पदालाई सुन्तला रङले सजाइन्छ । र्‍याली निकालिन्छ, भाषण गरिन्छ र हिंसाविरुद्ध प्रतिबद्धता व्यक्त गरिन्छ ।

सुन्तला रङलाई हिंसामुक्त उज्ज्वल भविष्यको आशाको प्रतीकका रूपमा प्रयोग गरिन्छ । संयुक्त राष्ट्रसंघको UNiTE अभियानले पनि यही रङलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्दै आएको छ । तर डिसेम्बर १० पछि पनि महिला तथा बालिकाले हिंसा भोगिरहेकै हुन्छन् भने अभियानको उपलब्धि के भयो ? यही प्रश्न सबैले आफैँसँग गर्नुपर्ने बेला आएको छ ।

अभियानको सफलता कार्यक्रमको सङ्ख्याले होइन, हिंसाका घटनामा आएको कमी, पीडितले न्याय पाएको अवस्था, महिलाको बढ्दो आत्मनिर्भरता, सामाजिक सोचमा आएको परिवर्तन र राज्यको जवाफदेहिताले मापन हुनुपर्छ ।

सरकारले प्रत्येक वर्ष अभियान सञ्चालन गर्दा अघिल्लो वर्ष गरेका प्रतिबद्धता कति पूरा भए भन्ने सार्वजनिक समीक्षा गर्नुपर्छ । स्थानीय तहले हिंसाका घटनाको अभिलेख राख्ने, जोखिममा रहेका व्यक्तिको पहिचान गर्ने र सेवा प्रवाहको नियमित अनुगमन गर्ने प्रणाली विकास गर्नुपर्छ ।

त्यसैगरी सञ्चारमाध्यमले हिंसाका घटनालाई सनसनीपूर्ण बनाउनेभन्दा पीडितको गोपनीयता, सम्मान र न्यायलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्नुपर्छ ।

हिंसामुक्त समाज नाराले होइन, व्यवहारले बन्छ

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानले समाजलाई एउटा महत्त्वपूर्ण सन्देश दिन्छ–  लैङ्गिक हिंसा महिला वा तेस्राे लिङ्गिको मात्र समस्या होइन, सम्पूर्ण समाजको समस्या हो । यसको समाधान पनि महिलाको एक्लो प्रयासबाट सम्भव छैन ।

परिवारले समानताको संस्कार अपनाउनुपर्छ । समाजले विभेदकारी मान्यता त्याग्नुपर्छ । राजनीतिक नेतृत्वले महिलाको अधिकारलाई व्यवहारमा उतार्नुपर्छ । राज्यले पीडितलाई न्याय र सुरक्षा दिनुपर्छ । पुरुषले पनि आफ्नो सोच र व्यवहारमा परिवर्तन ल्याउनुपर्छ ।

महिलालाई संरक्षण गर्ने नाममा उनीहरूको स्वतन्त्रता नियन्त्रण गर्नु समानता होइन । उनीहरूलाई दया होइन, अधिकार चाहिएको छ । सहानुभूति होइन, सम्मान चाहिएको छ । आश्वासन होइन, न्याय चाहिएको छ ।

अभियानको वास्तविक सार्थकता १६ दिनसम्म महिला अधिकारको कुरा गर्नुमा होइन, वर्षका ३६५ दिन नै महिला, तस्राे लिङ्गि तथा बालिकाले हिंसा, भय, अपमान र विभेदरहित जीवन बाँच्न पाउने वातावरण निर्माण गर्नुमा छ ।

त्यसैले यस वर्षको १६ दिने अभियानलाई पनि औपचारिकतामा सीमित नराखौँ । हिंसाविरुद्ध बोलौँ, पीडितको आवाज सुनौँ, अन्यायविरुद्ध उभिऔँ र समानतामा आधारित समाज निर्माणका लागि आ–आफ्नो ठाउँबाट जिम्मेवारी निर्वाह गरौँ ।

किनकि हिंसामुक्त समाज कुनै एक दिवसको उपलब्धि होइन, निरन्तर संघर्ष, सामूहिक प्रतिबद्धता र व्यवहार परिवर्तनको परिणाम हो । त्यसैले त यस वर्षकाे अिभयानकाे नारा छ- “लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता।”

आधार सामग्री : संयुक्त राष्ट्रसंघ, UN Women तथा नेपाल कानून आयोगका प्रकाशित दस्तावेज र विवरण।