जनता टाइम्स

१० मंसिर २०८३, बिहिबार ०८:३६

एक सई र एक असईसहित १४ प्रहरीलाई सेवाबाट हटाउने तयारी


काठमाडौँ, मङ्सिर १० । लामो समयदेखि कार्यालयमा गैरहाजिर भई सम्पर्कविहीन रहेका एक प्राविधिक प्रहरी नायव निरीक्षक (सई), एक प्रहरी सहायक निरीक्षक (असई)सहित १४ जना प्रहरीलाई सेवाबाट हटाउने तयारी गरिएको छ।

प्रहरी प्रधान कार्यालयको कानुन शाखाले बिहीबार सूचना जारी गर्दै उनीहरूलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो।

सम्पर्कविहीन हुनेमा एक जना प्राविधिक सई, एक जना असई, दुई जना हवल्दार र १० जना प्रहरी जवान रहेका छन्।

प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) तथा नियम १०९ को देहाय (ख) बमोजिम सेवाबाट हटाउने चेतावनी दिएको छ।

उनीहरूलाई गैरहाजिर हुनुको मनासिब कारणसहित सात दिनभित्र प्रहरी प्रधान कार्यालयमा सम्पर्क गर्न भनिएको छ। अन्यथा नियमअनुसार सेवाबाट हटाउने प्रक्रिया अघि बढाइने जनाइएको छ।