जनता टाइम्स

१० मंसिर २०८३, बिहिबार ०८:३०

नेपाल र भारतले तयार गरेको ईपीजीको च्याप्टर क्लोज भएकै हो त ?


काठमाडौँ, मङ्सिर १० । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनबारे भारतका विदेश सचिव विक्रम मिस्रीले दिएको अभिव्यक्तिपछि नेपालमा पुनः बहस सुरु भएको छ। नेपालका तर्फबाट ईपीजीमा सहभागी सदस्यहरूले प्रतिवेदनको सन्दर्भ नसकिएको भन्दै नेपाल सरकारले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने बताएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणपछि आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश सचिव मिस्रीले ईपीजी विगतको विषय भइसकेको र भारत पछाडि फर्केर हेर्ने पक्षमा नरहेको धारणा व्यक्त गर्नुभएको थियो।

मिस्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै ईपीजीका सदस्य एवं पूर्वराजदूत नीलाम्बर आचार्यले दुवै देशका सरकारले गठन गरेको समूहले लामो समय लगाएर तयार पारेको प्रतिवेदनलाई बेवास्ता गर्न नमिल्ने बताउनुभयो। प्रतिवेदन अध्ययन नै नगरी असान्दर्भिक भन्नु गलत भएको उहाँको भनाइ छ।

आचार्यले ईपीजीको सन्दर्भ सकिएको नभई झन् बढेको उल्लेख गर्दै भारतले प्रतिवेदन बुझ्न नमाने नेपालले सार्वजनिक गर्नुपर्ने धारणा राख्नुभयो। तर, त्यसअघि भारतसँग पुनः वार्ता र संवाद गर्नुपर्ने उहाँको सुझाव छ।

ईपीजीका अर्का सदस्य एवं पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापाले प्रतिवेदन राखिएको ‘दराजको साँचो’ परराष्ट्रमन्त्री शिशिर खनाललाई हस्तान्तरण गरिसकिएको बताउनुभएको छ। दुवै देशले गठन गरेको समूहले तयार पारेको प्रतिवेदन कसरी असान्दर्भिक हुन सक्छ भन्ने उहाँको प्रश्न छ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि ईपीजी प्रतिवेदन असान्दर्भिक भएको एकतर्फी घोषणा गर्नु खेदजनक भएको टिप्पणी गर्नुभएको छ। उहाँले प्रतिवेदनलाई दुई देशबीचका दीर्घकालीन र रणनीतिक समस्या मैत्रीपूर्ण ढङ्गले समाधान गर्ने माध्यमका रूपमा व्याख्या गर्नुभएको छ।

के छ ईपीजी प्रतिवेदनमा ?

सन् २०१८ मा तयार भएको ईपीजी प्रतिवेदनमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षको पुनरवलोकन गर्दै सुझाव दिइएको छ। प्रतिवेदनमा सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि परिमार्जन गरी बदलिँदो परिस्थितिअनुकूल बनाउनुपर्ने विषय समेटिएको छ।

त्यस्तै, नेपालले तेस्रो मुलुकबाट हतियार खरिद गर्दा भारतको सहमति लिनुपर्ने प्रावधान हटाउनुपर्ने सुझाव पनि प्रतिवेदनमा रहेको बताइएको छ।

नेपाल–भारत सीमा व्यवस्थापनका लागि दुवै देशका नागरिकले सीमा वारपार गर्दा परिचयपत्र देखाउनुपर्ने र निश्चित नाकाबाट मात्रै आवतजावत गर्नुपर्ने प्रस्ताव गरिएको छ। कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्तालगायत सीमा विवाद कूटनीतिक संवादबाट समाधान गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा छ।

नेपालको पारवहन अधिकार सुनिश्चित गर्दै भारतका विशाखापट्टनमलगायत बन्दरगाह र आन्तरिक जलमार्गमा सहज पहुँच उपलब्ध गराउनुपर्ने विषयसमेत समेटिएको छ। साथै, पञ्चेश्वर परियोजनालगायत जलविद्युत् तथा सिँचाइ आयोजनालाई दुवै देशको हितअनुकूल अघि बढाउनुपर्ने सुझाव दिइएको छ।

यस विषयमा परराष्ट्र मन्त्रालयले भने हालसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन। मन्त्रालयका एक सहसचिवले यो दुई देशबीचको राजनीतिक विषय भएकाले उच्च तहबाटै सम्बोधन हुनुपर्ने बताउनुभएको छ।

उहाँका अनुसार ईपीजी प्रतिवेदन मन्त्रालयमै सुरक्षित छ र यसको सान्दर्भिकता समाप्त भएको छैन। भारतले प्रतिवेदन नबुझे नेपालले आफ्नै तरिकाले सार्वजनिक गर्न सक्ने भए पनि यस विषयमा हतार गर्न नहुने उहाँको भनाइ छ।