काठमाडौँ, मङ्सिर १० । इजिप्टको राजधानी कायरोमा इन्धन ट्यांकर दुर्घटनापछि भएको भीषण आगलागीमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।
बुधबार साँझ कायरोको वर्राक क्षेत्रस्थित रिङ रोडमा इन्धन बोकेको ट्यांकर दुर्घटनामा परेपछि आगलागी भएको हो। आगो सडकमा गुडिरहेका अन्य सवारीसाधनमा समेत फैलिएको थियो।
इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार घाइतेमध्ये केहीको शरीर जलेको छ भने केहीलाई धुवाँका कारण श्वासप्रश्वासमा समस्या भएको छ। उनीहरूको नजिकका अस्पतालमा उपचार भइरहेको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका दृश्यमा राजमार्गमा आगोका ठूला लप्का र आकाशमा कालो धुवाँ फैलिएको देखिन्छ। आगलागीका कारण आसपासका कैयौँ सवारीसाधन जलेर नष्ट भएका छन्।
सरकारी अखबार अल–अहरामका अनुसार प्रारम्भिक अनुसन्धानमा ट्यांकर अगाडि उच्च भोल्टेजको विद्युत् तार खसेपछि चालकले नियन्त्रण गुमाएको पाइएको छ। त्यसपछि ट्यांकर डिभाइडर पार गर्दै पल्टिएको र पेट्रोल सडकमा पोखिएपछि आगलागी भएको बताइएको छ।
यद्यपि, घटनाको आधिकारिक कारणबारे सम्बन्धित अधिकारीहरूले थप अनुसन्धान गरिरहेका छन्।













प्रतिक्रिया दिनुहोस्