काठमाडौँ, मङ्सिर १० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, भारत र युरोपेली सङ्घसहित १४ देश तथा क्षेत्रबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क लगाउने घोषणा गर्नुभएको छ।
प्रस्तावित शुल्कमध्ये चीनमाथि सबैभन्दा बढी ४० प्रतिशतसम्म, भियतनाममाथि ३५ प्रतिशतसम्म तथा अन्य देशमाथि २० देखि २५ प्रतिशतसम्म शुल्क लगाउने योजना रहेको छ। नयाँ शुल्क आगामी वर्षदेखि लागू हुने अपेक्षा गरिएको छ।
अमेरिकी सर्वोच्च अदालतले ट्रम्पले यसअघि घोषणा गर्नुभएको ‘लिबरेसन डे’ भन्सार शुल्कलाई गैरकानुनी ठहर गरेपछि ह्वाइट हाउसले गत मार्चमा विभिन्न देशका व्यापारिक अभ्यासबारे अनुसन्धान सुरु गरेको थियो। सोही अनुसन्धानका आधारमा नयाँ शुल्क घोषणा गरिएको हो।
बीबीसीका अनुसार चीन, युरोपेली सङ्घ, सिंगापुर, स्विट्जरल्यान्ड, इन्डोनेसिया, मलेसिया, कम्बोडिया, थाइल्यान्ड, दक्षिण कोरिया, भियतनाम, ताइवान, बंगलादेश, जापान र भारतमा नयाँ शुल्क लगाउने प्रस्ताव गरिएको छ।
अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीयरले नयाँ शुल्कले अमेरिकी श्रमिकका लागि समान प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने र विश्व अर्थतन्त्रलाई दिगो दिशामा अघि बढाउने दाबी गर्नुभएको छ।
उहाँले अमेरिकाका व्यापारिक साझेदारहरूले दशकौँदेखि उत्पादन, ज्याला तथा श्रम व्यवस्थापनलाई लक्षित गरी अपनाएका औद्योगिक रणनीति र बजार प्रभावित पार्ने अभ्यासका कारण अमेरिकी उत्पादन आधार कमजोर बनेको आरोप लगाउनुभएको छ।
भन्सार शुल्क विदेशबाट आयात हुने वस्तुमा लगाइने कर हो। सामान्यतया वस्तुको मूल्यको निश्चित प्रतिशतका आधारमा यस्तो कर निर्धारण गरिन्छ र आयातकर्ताले सरकारलाई बुझाउँछन्।
यद्यपि, ट्रम्पले केही देशसँग शुल्कसम्बन्धी सहमति गरिसकेकाले प्रस्तावित दर प्रभावकारी रूपमा कम हुन सक्ने जनाइएको छ। देशअनुसार शुल्कको दर पनि फरक हुनेछ।
अर्थशास्त्रीहरूले भने भन्सार शुल्कले मुद्रास्फीति बढाउन सक्ने चेतावनी दिएका छन्। आयात लागत बढेपछि व्यवसायीले त्यसको भार उपभोक्तामाथि सार्दा वस्तुको मूल्य बढ्न सक्ने र यसले विश्व व्यापारमा समेत संकुचन ल्याउन सक्ने उनीहरूको भनाइ छ।
ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा अमेरिकी उत्पादन र रोजगारी वृद्धि गर्ने तथा व्यापार घाटा घटाउने उद्देश्यले पटक–पटक भन्सार शुल्क लगाउने नीति अघि सार्दै आउनुभएको छ। रिपब्लिकन पार्टीले मध्यावधि निर्वाचनमा कमजोर नतिजा हासिल गरे पनि उहाँले आफ्नो प्रमुख व्यापार नीतिलाई निरन्तरता दिनुभएको छ।













प्रतिक्रिया दिनुहोस्