जनता टाइम्स

१० मंसिर २०८३, बिहिबार ०८:२२

दशौँ राष्ट्रिय खेलकुदको पौडीमा एकै दिन चार राष्ट्रिय कीर्तिमान


काठमाडौँ, मङ्सिर १० । कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको दोस्रो दिन पौडीमा चार नयाँ राष्ट्रिय कीर्तिमान कायम भएका छन्।

नेपालगञ्जमा भएको पौडी प्रतिस्पर्धामा सुदूरपश्चिमका अर्थव सिंहले पुरुष ४०० मिटर फ्रिस्टाइलमा चार मिनेट ५६ दशमलव ७६ सेकेन्डको समय निकाल्दै आफ्नै पुरानो कीर्तिमान सुधार गर्नुभयो। उहाँले सुदूरपश्चिमका लागि पहिलो स्वर्णसमेत जित्नुभयो।

बागमतीका अभिव प्रधानले पुरुष १०० मिटर ब्रेस्टस्ट्रोकमा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्नुभयो। एनआरएनएका लिली बोहराले महिला ८०० मिटर फ्रिस्टाइलमा कीर्तिमानी प्रदर्शन गर्दै स्वर्ण हात पार्नुभयो। नेपाल पुलिस क्लबको टोलीले रिले स्पर्धामा अर्को राष्ट्रिय कीर्तिमान कायम गर्‍यो।

महिला चार गुणा १०० मिटर मिड्ले रिले र मिक्स चार गुणा ५० मिटर मिड्ले रिलेमा बागमती प्रदेशले स्वर्ण जितेको छ।

प्रतियोगिताको पदक तालिकामा बागमती प्रदेश नौ स्वर्ण, चार रजत र छ कांस्यसहित शीर्ष स्थानमा छ। एनआरएनए छ स्वर्ण, एक रजत र दुई कांस्यसहित दोस्रो तथा नेपाल पुलिस क्लब तीन स्वर्ण, सात रजत र आठ कांस्यसहित तेस्रो स्थानमा छन्।

अन्य खेलतर्फ महिला बास्केटबलमा सुदूरपश्चिमले मधेसलाई ४७–३ अंकले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ। नेपाल पुलिस क्लबले आयोजक कर्णालीलाई ५२–१९ अंकले हराएको छ। थ्री अन थ्री बास्केटबलमा त्रिभुवन आर्मी क्लबले कोशीलाई १३–८ र बागमतीले मधेसलाई ८–३ अंकले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेका छन्।

पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ३–० गोलले हराउँदा बागमती र कोशीले २–२ गोलको बराबरी खेलेका छन्।

महिला क्रिकेटमा बागमतीले सुदूरपश्चिमले दिएको ११३ रनको लक्ष्य तीन विकेट गुमाएर पूरा गर्दै सात विकेटको जित निकालेको छ। अर्को खेलमा कोशीले कप्तान रुबिना क्षेत्रीको ६२ रनको मद्दतमा आयोजक कर्णालीलाई ४९ रनले पराजित गरेको छ।

प्रतियोगिताका खेल मङ्सिर ८ गतेदेखि सुरु भए पनि औपचारिक उद्घाटन मङ्सिर १६ गते हुने कार्यक्रम छ।