जनता टाइम्स

९ मंसिर २०८३, बुधबार १४:२२

अटिजम भएका बालबालिकाका लागि काठमाडौंमा स्कुल तथा अनुसन्धान केन्द्र बन्ने, कार्यवाहक प्रमुख डंगोलद्वारा शिलान्यास


काठमाडौँ, मङ्सिर ९ । काठमाडौं महानगरपालिकाले वडा नम्बर २९ मा अटिजम भएका बालबालिकाका लागि विद्यालय तथा अनुसन्धान केन्द्र निर्माण गर्ने भएको छ ।

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बुधबार बिहान भवनको शिलान्यास गर्नुभएको हो । वडा अध्यक्ष कुश ढकालसहित जनप्रतिनिधि र स्थानीयको उपस्थितिमा जग पूजा गरी भवन निर्माणको औपचारिक सुरुवात गरिएको हो ।

शिलान्यासपछि आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख डंगोलले हरेक बालबालिकाले शिक्षा, खेलकुद र समान अवसर पाउनुपर्ने बताउनुभयो । अटिजम वा शारीरिक अपाङ्गता भएकै कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नहुने उहाँको भनाइ थियो ।

महानगरले निर्माण गर्न लागेको ‘काठमाडौं स्कुल फर चिल्ड्रेन विथ अटिजम एन्ड रिसर्च सेन्टर’को भवन विद्यालय सञ्चालनमा मात्र नभई अटिजम भएका बालबालिकाको सीप तथा ज्ञान अभिवृद्धि, तालिम, अध्ययन–अनुसन्धान र अभिभावकलाई सहयोग पुर्‍याउन बहुउपयोगी हुने डंगोलले बताउनुभयो ।

उहाँले यो भवनको शिलान्यास एउटा संरचना निर्माणको सुरुवात मात्र नभई सबै बालबालिकाले सम्मानपूर्वक बाँच्न र समान अधिकार प्राप्त गर्न सक्ने मानवतामैत्री सहर निर्माणको प्रयास भएको उल्लेख गर्नुभयो ।

वडा नम्बर २९ को प्रशासनिक भवनको पूर्वतर्फ निर्माण हुने उक्त भवन पाँच तले हुनेछ । ४५० दशमलव ८० वर्गमिटर क्षेत्रफलमा बन्ने भवनको कुल क्षेत्रफल भूमिगत तलासहित १८ हजार ५०० वर्गफिट रहनेछ ।

भवनको भूमिगत तलामा ३० वटा दुईपाङ्ग्रे सवारीसाधन पार्किङ गर्ने व्यवस्था हुनेछ । पहिलो, दोस्रो र तेस्रो तलामा तालिम तथा प्रशिक्षण कक्ष र चौथो तलामा प्रशासन तथा अनुसन्धान कक्ष रहनेछ । भवनमा आठ जना क्षमताको लिफ्ट, पहुँचयुक्त शौचालय तथा कोठाहरू र खेल्ने खुला स्थानसमेत रहने डिजाइनमा उल्लेख छ ।

भवन निर्माणका लागि १० करोड ९१ लाख ७९ हजार ६०२ रुपैयाँ लागत अनुमान गरिएकोमा सार्वजनिक खरिद प्रक्रियामार्फत ९ करोड ७७ लाख ४५ हजार ६२६ रुपैयाँमा निर्माण सम्झौता भएको छ ।

निर्माण पक्षलाई मङ्सिर ३ गते कार्यादेश दिइएको र २०८४ चैत मसान्तभित्र निर्माण सम्पन्न गर्नुपर्ने महानगरपालिकाले जनाएको छ । भवनको डिजाइन सार्वजनिक निर्माण विभागले गरेको हो ।