जनता टाइम्स

९ मंसिर २०८३, बुधबार १४:२३

चीनको अन्तरिक्ष केन्द्र पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्री बन्दै पाकिस्तानी नागरिक अली


काठमाडौँ, मङ्सिर ९ । पाकिस्तानी अन्तरिक्ष यात्री मुहम्मद जिसान अली चीनको अन्तरिक्ष केन्द्र ‘तियाङगोङ’ पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्री बन्ने भएका छन् ।

उनी चीनको ‘शेन्झाउ–२४’ अन्तरिक्ष मिसनका लागि पेलोड विशेषज्ञका रूपमा छनोट भएका हुन् । अलीले चिनियाँ अन्तरिक्ष यात्रीहरूसँगै महिनौँ लामो कठिन प्रशिक्षण पूरा गरेपछि अन्तरिक्ष यात्राको तयारी गरेका छन् ।

अलीले आफू व्यक्तिगत रूपमा मात्र नभई पाकिस्तानको प्रतिनिधित्व गर्दै अन्तरिक्षमा जान लागेको बताएका छन् । अन्तरिक्ष यात्राले पाकिस्तानको नाम र पहिचान बोकेको उनको भनाइ छ ।

सन् २०२६ मा चीन र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पूरा हुँदैछ । यही अवसरमा चिनियाँ अन्तरिक्ष यात्रीहरूसँगै अन्तरिक्षमा पुग्नुले दुई देशबीचको मित्रता थप मजबुत बनाउने अलीले बताएका छन् ।

चीन र पाकिस्तानले सन् २०२५ फेब्रुअरीमा चिनियाँ अन्तरिक्ष केन्द्रमा हुने मिसनका लागि पाकिस्तानी अन्तरिक्ष यात्री छनोट र प्रशिक्षण गर्ने सम्झौता गरेका थिए । त्यसपछि यसै वर्ष अप्रिलमा अलीसहित अर्का एक पाकिस्तानी अन्तरिक्ष यात्री प्रशिक्षणका लागि चीन पुगेका थिए ।

चीनमा उनीहरूले आधारभूत अन्तरिक्ष प्रशिक्षण, एयरोस्पेस प्रविधि तथा चिनियाँ भाषाको तालिम लिएका थिए । मिसनका क्रममा प्रयोग हुने निर्देशन र प्राविधिक शब्दावलीसमेत सिकाइएको थियो । उनीहरूले नियमित उडान प्रक्रिया र आपत्कालीन अवस्थासम्बन्धी अभ्यास पनि गरेका थिए ।

अन्तरिक्षमा पुगेपछि अलीले टोलीका अन्य सदस्यसँगै नियमित काम गर्नुका साथै चीन–पाकिस्तान संयुक्त अन्तरिक्ष विज्ञानसम्बन्धी प्रयोगमा सहभागी हुनेछन् ।

केही समय अन्तरिक्षमा बिताएपछि उनी ‘शेन्झाउ–२३’ अन्तरिक्षयानमार्फत पृथ्वीमा फर्किने कार्यक्रम रहेको समाचारमा उल्लेख छ । अन्तरिक्षबाट आफ्नो देश पाकिस्तान र जन्मथलो हेर्न पाउनु ठूलो सम्मान हुने अलीले बताएका छन् ।

अन्तरिक्ष अन्वेषण मानवजातिको हित, शान्तिपूर्ण उपयोग र पृथ्वीमा सर्वसाधारणको जीवनस्तर सुधारका लागि हुनुपर्ने उनको धारणा छ । चीनको अन्तरिक्ष केन्द्रमा पाकिस्तानी अन्तरिक्ष यात्रीको सहभागितालाई दुई देशबीचको सहकार्यसँगै अन्तर्राष्ट्रिय अन्तरिक्ष सहकार्यको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।