काठमाडौं, कात्तिक १२ । छोटो भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा नेपालबाट अपलोड गरिएका २० लाख ३६ हजार १९१ वटा भिडियो हटाएको छ। कम्पनीको ‘कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट’ अनुसार नियम उल्लंघन गरेको भन्दै ती भिडियो हटाइएका हुन्।
अप्रिलदेखि जुनसम्मको अवधिमा नेपालबाट अपलोड गरिएका कुल भिडियोमध्ये हटाइएका सामग्रीको हिस्सा ०.४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।
टिकटकले हटाइएका भिडियोमध्ये ९९.५ प्रतिशत सामग्री प्रयोगकर्ता वा सर्वसाधारणले रिपोर्ट गर्नुअघि नै स्वचालित प्रणालीमार्फत पहिचान गरेको जनाएको छ। त्यस्तै, ९२.३ प्रतिशत भिडियो अपलोड भएको २४ घण्टाभित्रै हटाइएको प्रतिवेदनमा उल्लेख छ।
कम्पनीको आन्तरिक पुनरावलोकन तथा प्रयोगकर्ताको अपिलपछि ३३ हजार ५०३ वटा भिडियो गल्तीवश हटाइएको ठहर गर्दै पुनःस्थापना गरिएको छ।
समीक्षा अवधिमा टिकटकले विश्वभरबाट १८ करोड ८२ लाख ९८ हजार १४१ वटा भिडियो हटाएको छ। यो विश्वव्यापी रूपमा प्लेटफर्ममा पोस्ट गरिएका कुल भिडियोको करिब ०.५ प्रतिशत हो।
नक्कली खाता र उमेर ढाँट्नेमाथि कारबाही
टिकटकले प्लेटफर्मको विश्वसनीयता कायम राख्न नक्कली खाता र उमेरसम्बन्धी नियम उल्लंघन गर्ने प्रयोगकर्तामाथि पनि कारबाही गरेको जनाएको छ।
प्रतिवेदनअनुसार विश्वभरबाट १४ करोड ६८ लाख सात हजार ४०० भन्दा बढी नक्कली खाता हटाइएका छन्। त्यस्तै, १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले सञ्चालन गरेको आशंकामा दुई करोड ६८ लाख ४० हजार ७६७ खाता बन्द गरिएका छन्।
नियम उल्लंघन गरी अमर्यादित टिप्पणी गर्ने २७ करोड ८३ लाख ८४ हजार ४६३ भन्दा बढी कमेन्टसमेत हटाइएको प्रतिवेदनमा उल्लेख छ।
लाइभ स्ट्रिमिङमा पनि कडाइ
टिकटकले लाइभ स्ट्रिमिङमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न नियमन प्रणाली थप कडा बनाएको जनाएको छ। समीक्षा अवधिमा प्रकाशित कुल लाइभ सामग्रीमध्ये २.४ प्रतिशत सामग्री निलम्बन गरिएको छ।
यस अवधिमा सात करोड ६७ लाख २१ हजार ९३ वटा लाइभ सेसनमा कारबाही गरिएको छ भने दुई करोड ६७ लाख ८१ हजार १३५ लाइभ क्रिएटरलाई चेतावनी दिइएको वा उनीहरूको आम्दानी गर्ने सुविधा हटाइएको प्रतिवेदनमा उल्लेख छ।
समीक्षापछि २३ लाख ९८ हजार ८४६ वटा लाइभ सेसन पुनःस्थापना गरिएको पनि टिकटकले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्