जनता टाइम्स

२२ आश्विन २०८३, बिहीबार ११:२५

कांग्रेस महाधिवेशनमा केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्म प्रतिस्पर्धामा उत्रिए पत्रकार नेता


काठमाडौं, असोज २२ । नेपाली कांग्रेसको जारी १५औं महाधिवेशनमा आधा दर्जन पत्रकार केन्द्रीय सदस्यमा उम्मेदवार बनेका छन ।

नेतृत्व चयनका लागि आज मतदान हुने निर्वाचनमा सहमहामन्त्रीदेखि केन्द्रीय सदस्यसम्म पत्रकारहरु भिडेका हुन । कांग्रेस महाधिवेशनमा पदाधिकारीतर्फ खुलातर्फ अजयबाबु शिवाकोटी प्रतिस्पर्धामा उत्रनुभएको छ ।

नेपाल प्रेस युनियनका पूर्वमहासचिव शिवाकोटी कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित हुनुभएको थियो । बिशेष महाधिवेशनबाट पनि सोही पदमा चयन हुनुभएका शिवाकोटी सहमहामन्त्रीमा प्रतिस्र्पर्धा गर्नुभएको हो ।

केन्द्रीय सदस्यमा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, पूर्वअध्यक्ष समिरजंग शाह, पूर्वउपाध्यक्ष बाला अधिकारी र युनियनकी केन्द्रीय सदस्य कमला हमाल प्रतिस्पर्धामा उत्रनुभएको छ । पत्रकार महासंघमा कार्यबहाक अध्यक्षको भूमिका निर्वाह गरिसक्नुभएका पूर्वउपाध्यक्ष अधिकारी बिशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा चयन हुनुभएको थियो ।

यस्तै खुला केन्द्रीय सदस्यतर्फ प्रेस युनियनका संस्थापक कविर राणा प्रतिस्पर्धी हुनुहुन्छ । केन्द्रीय सदस्यमा उम्मेदवार बनेकामध्ये राणा खुला र हमाले लुम्बिनी प्रदेशबाट प्रतिस्पर्धी बन्नुभएको छ भने लम्साल, शाह र अधिकारी पेशागततर्फ उम्मेद्वार बन्नुभएको छ ।

पत्रकारिता क्षेत्रबाट राजनीति सुधारका लागि उठाएको आवाज नसुनिएकोले पार्टीको नीति निर्माणमै योजना बनाउन केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेको सवैजसोको भनाई छ ।