काठमाडौं, असोज २२। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज बिहान १० बजेबाट हुने भनिएको मतदान फेरि पछाडि सरेको छ। निर्वाचन समितिका अनुसार अब मतदान दिउँसो १ बजेदेखि सुरु हुने भएको छ।
यसअघि निर्वाचन समितिले आज बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। भारी वर्षा तथा केही प्राविधिक कारण देखाउँदै मतदानको समय तीन घण्टा पछाडि सारेर बिहान १० बजेका लागि निर्धारण गरिएको थियो। तर १० बजेबाट सुरु हुने भनिएको मतदान पनि पुनः पछाडि सारिएको हो।
मतदानको समय पुनः सारिनुको स्पष्ट कारण भने निर्वाचन समितिले सार्वजनिक गरेको छैन।
कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि महाधिवेशनमा सहभागी ७ हजार २५५ जना प्रतिनिधिले मतदान गर्नेछन्। सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका नेताहरूको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ सार्वजनिक गरिसकेको छ।
महाधिवेशनबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीलगायत पदाधिकारी तथा केन्द्रीय सदस्य चयन हुनेछन्। मतदान सम्पन्न भएपछि मतगणनाको प्रक्रिया अघि बढाइनेछ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनले विधान संशोधन गर्दै केन्द्रीय कार्यसमितिलाई २९७ सदस्यीय बनाएको छ।












प्रतिक्रिया दिनुहोस्