जनता टाइम्स

१३ कार्तिक २०८३, शुक्रबार १७:४२

नेपाल प्रेसको न्यूजरुममै पसेर पूर्जीबिनै पत्रकार सुवेदी पक्राउ : समाचारको स्रोत खोजी


काठमाडौं, कात्तिक १३ । प्रहरीले अनलाइन मिडिया नेपाल प्रेसको कार्यलयभित्रै (न्यूजरुम) प्रवेश गरेर पत्रकारलाई पक्राउ गरेको छ ।

सादा पोशाकमा आएका प्रहरीले सुरक्षा र अपराध बिटमा रिपोर्टिङ गर्दै आएका नेपाल प्रेसका पत्रकार तथा प्रेस चाैतारी नपालका बरिष्ठ नेता विश्वमणी सुवेदीलाई शुक्रबार नियन्त्रणमा लिएको हो ।

नेपाल प्रेसले जनाएअजुसार पत्रकार सुवेदी नेपाल प्रेसको समाचार कक्षमा कार्यरत रहेको बेलामा तीन जना व्यक्तिहरु कार्यालयभित्र प्रवेश गरेका थिए ।

प्रहरीको भ्यानमै आएका उनीहरुले गेटमा रहेका गार्डलाई साथी भेट्न आएको भनेर भित्र छिरेका हुन् ।

समाचार कक्षभित्र प्रवेश गरेर उनीहरुले पत्रकार सुवेदीलाई समाचारको विषयमा छलफल गर्नुपर्ने भएकाले आफूहरुसँग जान भनेका थिए ।

समाचार कक्षमा रहेका अर्का पत्रकार राजाराम न्यौपानेका अनुसार प्रहरीले कुनै पनि पक्राउ पूर्जी दिएका छैनन् । उनीहरुले आफूहरु अपराध अनुसन्धानबाट आएको र ‘आइजी साब’को आदेश रहेको मात्रै बताएका थिए ।

सुवेदीले छलफलका लागि आउनुपर्ने भए आफ्नै मोटरसाइकलमा आउने बताए पनि प्रहरीले अनुमति दिएनन् । उनीहरुले सुवेदीलाई प्रहरीको गाडीमा हालेर लगेका छन् ।

पत्रकार सुवेदीसँग नेपाल प्रेसले सम्पर्क गर्दा उनको फोन नउठेकाे जानकारी समाचारमार्फत दिइएकाे छ । प्रहरीले पनि केही बताएको छैन । प्रहरी स्रोतका अनुसार साइबर ब्यूरोको आग्रहमा अपराध महाशाखाले पत्रकार सुवेदीलाई बिनापक्राउ पुर्जी नियन्त्रणमा लिएको हो ।

नेपाल प्रेसमा प्रकाशित प्रहरी महानिरिक्षकमाथि राजीनामाको दबाबसम्बन्धी समाचारको स्रोत खोज्नका लागि पक्राउ गरिएको प्रहरी स्रोतको दाबी छ ।

सुवेदीलाई अपराध महाशाखाले साइबर ब्यूरोलाई बुझाउने बुझिएको छ ।