काठमाडौं, कात्तिक १३ । नेपाल प्रेसको कार्यालयमा प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको केही समयमै प्रहरीले प्रकाशन संस्था नेपाल इ प्रेसका अध्यक्ष विन्दुराज लम्साल र प्रधानसम्पादक मातृका पौडेललाई साइबर ब्यूरोमा बोलाएको छ ।
प्रहरीको फोनपछि अध्यक्ष लम्साल र प्रधानसम्पादक पौडेल साइबर ब्यूरो पुग्नुभएको हो । समाचारको विषयमा छलफल गर्नुपर्ने भन्दै आफूहरूलाई फोन आएको प्रधानसम्पादक पौडेलले जानकारी दिनुभएको छ ।
नेपाल प्रेसमा प्रकाशित प्रहरी महानिरीक्षक दानबहादुर कार्कीमाथि सरकारले दबाब बढाएको सम्बन्धी समाचारलाई लिएर प्रहरीले सोधपुछ गर्न खोजेको बुझिएको छ ।
साइबर ब्यूरो पुगेपछि प्रधानसम्पादक पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ । उहाँले समाचारको स्रोत पत्रकारको मृत्युसँगै समाप्त हुने उल्लेख गर्दै दबाब, धम्की र पक्राउको डरले स्रोतप्रतिको विश्वासघात गर्न नसकिने बताउनुभएको छ । पौडेलले लेख्नुभएको छ, ‘समाचारको स्रोत पत्रकारको मृत्युसँगै समाप्त हुन्छ, बुट र धम्की अनि हतकडीको डरले स्रोतमाथिको विश्वासघात गर्न सकिन्न ! हाम्रो आचारसंहिता र विश्वव्यापी नैतिकताले पनि दिँदैन !’
पत्रकार सुवेदीलाई नेपाल प्रेसको समाचार कक्षबाटै पक्राउ गरिएको उल्लेख गर्दै उहाँले आफू र अध्यक्ष लम्साल साइबर ब्यूरोमा उपस्थित रहेको जानकारी दिनुभएको छ । उहाँले आफ्नो पेशा र कर्मप्रति अविचलित रहँदै आइपर्ने कठिनाइको सामना गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ । साथै, यस विषयमा चासो र ऐक्यबद्धता जनाउने सबैप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।
पाैडेलले लेख्नु भएकाे छ- ‘आफ्नो पेशा र कर्मप्रति अविचलित रहदै सबै कठिनाइ पर्गेल्ने छौं ! चासो,ऐक्यवद्दता राख्ने सबैलाई धन्यवाद ।’














प्रतिक्रिया दिनुहोस्