जनता टाइम्स

१३ मंसिर २०८३, आइतबार १०:५१

इनम सापकोटा प्रकरणमा कांग्रेसको प्रश्न : ‘सरकार निष्पक्ष अनुसन्धानमा छ कि फसाउने षड्यन्त्रमा ?’


काठमाडौं, मंसिर १३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हिरासतमा रहेका इनम सापकोटा प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै तत्काल संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेको छ।

प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पछिल्ला केही दिनदेखि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै राज्यशक्तिको दुरुपयोग गरी राजनीतिक प्रतिशोध साँध्ने काम भइरहेको हो भने त्यो विधिको शासनमाथिको गम्भीर प्रहार हुने बताउनुभएको छ।

सभापति गगन थापालगायतका व्यक्तिलाई लक्षित गरी सत्तापक्षबाटै बयानको पटकथा तयार पार्ने, हिरासतमा रहेका व्यक्तिको मोबाइल अनधिकृत व्यक्तिले जफत गरी दुरुपयोग गर्ने तथा तयार पारिएको कागज पढ्न बाध्य पार्ने र नमाने फसाइदिने धम्की दिने काम भइरहेको भन्ने विषय सार्वजनिक भएको उल्लेख गर्दै उहाँले यसलाई सामान्य रूपमा लिन नसकिने बताउनुभएको छ।

आङ्देम्बेले हिरासतमा रहेका इनम सापकोटाले आफ्नी श्रीमतीमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनले गम्भीर प्रश्नहरू जन्माएको उल्लेख गर्नुभएको छ। उहाँले भन्नुभएको छ, ‘अनुसन्धानको नाममा कसैलाई दबाब दिएर इच्छाअनुसारको बयान गराउन खोज्नु र राजनीतिक प्रतिशोध साँध्न राज्यशक्तिको दुरुपयोग गर्नु लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत हो।’

यस प्रकरणमा प्रधानमन्त्रीबाट स्पष्ट जवाफ आउने अपेक्षा कम रहेको उल्लेख गर्दै आङ्देम्बेले सरकारको अनुसन्धान प्रक्रियामाथि समेत प्रश्न उठाउनुभएको छ। ‘सरकार इनम सापकोटा प्रकरणको निष्पक्ष अनुसन्धान गरिरहेको छ कि नियोजित रूपमा फसाउने षड्यन्त्रको तानाबाना बुनिरहेको छ ?’ उहाँले प्रश्न गर्नुभएको छ।

यस्तो गतिविधि भइरहेको भए त्यसले राजनीतिक प्रतिशोधको विषय मात्र नभई राज्यका अनुसन्धानकारी निकायको विश्वसनीयता र लोकतान्त्रिक व्यवस्थामाथि नै गम्भीर चुनौती खडा गर्ने उहाँको भनाइ छ। ‘सत्ता स्थायी हुँदैन, तर राज्यका संस्थाहरूको विश्वसनीयता र कानुनी शासन स्थायी हुनुपर्छ,’ आङ्देम्बेले भन्नुभएको छ।

कांग्रेस नागरिक स्वतन्त्रता, लोकतन्त्र र विधिको शासनका लागि दशकौँदेखि संघर्ष गर्दै आएको पार्टी भएको उल्लेख गर्दै उहाँले यसप्रतिको पार्टीको प्रतिबद्धता अझै कायम रहेको स्पष्ट पार्नुभएको छ।

उहाँले इनम सापकोटा प्रकरणमा उठेका सम्पूर्ण आरोपको निष्पक्ष छानबिन गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभएको छ। साथै, आरोपको सत्यतथ्य सार्वजनिक गरी दोषी देखिए जोसुकै भए पनि कानुनबमोजिम कारबाही गर्नुपर्ने उहाँको माग छ। ‘लोकतन्त्रमा फरक विचार राख्नेलाई फसाउने पटकथा होइन, न्याय सुनिश्चित गर्ने कानुन आवश्यक छ,’ उहाँले भन्नुभएको छ।

राज्यसत्ता कसैको निजी प्रतिशोध साँध्ने औजार हुन नसक्ने स्पष्ट पार्दै आङ्देम्बेले सरकारलाई क्षणिक सनकका आधारमा नभई संविधान र विधिको शासनअनुसार सञ्चालन हुनसमेत आग्रह गर्नुभएको छ।