जनता टाइम्स

१६ माघ २०७६, बिहीबार ११:५६

संसदमा कांग्रेसको रमिता : सभापति कुरै नबुझि बोल्ने, सांसद ताली ठोक्ने


काठमाडौं, माघ १६

नेपाली कांग्रेसले बारम्बार भन्दै आएको शब्द हो, ‘प्रतिनिधिसभा विपक्षी दलको हो ।’ सख्याका हिसाबले नेपालको इतिहासमै प्रतिपक्षको कमजोर उपस्थिति अहिले संसदमा छ । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसको संसद्मा उपस्थिति संख्यात्मक आधारमा धेरै नै कमजोर छ ।

२०१५ सालमा गठन भएको पहिलो प्रतिनिधिसभा बाहेक प्रतिपक्षको उपस्थिति सबै भन्दा कमजोर रहेको यसपटक नै हो । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसका सांसद्हरूको संख्या ६२ छ । सख्यामा कमजोर भएपछि कांग्रेसले यो विषय जोडतोडका साथ उठाउने गरेको छ । तर, प्रस्तुतिमा भने कांग्रेस सत्तापक्षका रुष्ट सांसद भन्दा पनि कम आलोचनात्मक र खासै रचनात्मक छैन । जुन कांग्रेसकै कतिपय सांसदले सार्वजनिक कार्यक्रममा समेत स्विकारी सकेका छन् । गत मंगलबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सधैँको भन्दा छोटो सम्बोधन गर्दै मुलुकका जल्दा बल्दा मुद्दाहरू प्रायः छुटाउनु भएन । उहाको सम्बोधन सधैँको भन्दा सन्तुलित पनि थियो ।

सम्बोधनका क्रममा नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भलाई समेत जोड्दै ओलीले भन्नुभयो, ‘भ्रमण वर्षको प्रारम्भमै केही धक्का लागेको छ ।’ प्रधानमन्त्री ओलीपछि सम्बोधन गर्ने क्रममा प्रमुख प्रतिपक्षीदलका नेता शेरबहादुर देउवाले दिएको अभिव्यक्ति चर्चित बन्यो । उहाले भन्नुभयो, ‘के कस्तो धक्का लाग्यो, प्रतिपक्षलाई पनि जानकारी दिनुपर्यो ।’ प्रधानमन्त्री समेत देउवाको कुरा सुनेर आश्चर्यमा पर्नुभयो ।

तर, देउवा यतिमै रोकिनु भएन । उहाले अझै हौसिदै भन्नुभयो,‘प्रधानमन्त्रीजीले धक्काको कुरा गर्नु भयो । के धक्का हो यो ? कहाँबाट आउने धक्का हो यो ?नयाँ कुरा सुनेँ मैले । ठूलो धक्का आउँछ नेपालमा भन्नुभयो, कसले दिनेवाला छ यो धक्का ? हामीले पनि थाहा पाउनुपर्यो । त्यसको सामना गर्न सहयोगका लागि हामी पनि तयार छौँ । कसले धक्का दिन सक्छ, हामी पनि हेरौँ । धक्का कसले दिँदैछ, प्रधानमन्त्री बोल्नु भएको छैन ।’

बस्तवमा गत डिसेम्बरदेखि चीनमा फैलिएको कोरोना भाइरसका कारण नेपालको पर्यटक व्यवसायलाई धेरै नै ठूलो धक्का लागेको छ । प्रधानमन्त्रीले गरेको यति कुरा पनि प्रमुख प्रतिपक्षी नेता देउवाले बुझ्नु भएन वा प्रधानमन्त्रीले बोल्दै गर्दा प्रतिपक्षीदलका नेताको ध्यान अन्यत्रै रहेछ । तर, अझ रोचक कुरा त के छ भने आफ्नै पार्टीका सभापतिले यसो भनिरहँदा कांग्रेसको सांसदले भने टेबल ठोकेर समर्थन गरे ।

यस्तो प्रस्तुतिबाट बुझ्न सकिन्छ, प्रमुख प्रतिपक्ष भ्रम फैलाउन कतिसम्म गर्न सक्छ भनेर । एक त कुरा नबुझ्ने र भएको यर्थाथलाई लुकाएर आफुलाई चाहिने शब्दलाई मात्र टिपेर आधा अर्थ लगाएर दिउँसै दिग्भ्रमित बनाउने खेल । त्यसमा सांसदको पनि समर्थन हुनुलाई आश्चर्यमा मान्नु पर्ने हुन्छ ।

संसद्मा संख्यात्मक रूपमा कमजोर उपस्थिति भएका वेला प्रतिपक्षका सांसद्हरूले आफ्नो क्रियाशिलता तथा सुझारूकता नबढाउने हो भने संसद् निरस हुन्छ । संसद्माा कुनै रौनक हुँदैन । ५९ सदस्यीय राष्ट्रियसभामा नेपाली कांग्रेसका सांसद्हरूको संख्या अब केही दिनमै १३ बाट झरेर ६ मा सीमित हुँदैछ । अबको दुई वर्षपछि ६ बाट घटेर २ मा सीमित हुँँदैछ । त्यसकारण कांग्रेसले आफुलाई रचनात्मक रुपमा प्रस्तुत गर्नुपर्नेछ ।

छिमेकी मुलुक भारतलगायत बहुदलीय संसदीय व्यवस्था अवलम्बन गरेका विश्वका अन्य मुलुकमा पनि संख्यात्मक रूपमा प्रतिपक्ष कमजोर भएका धेरै नजीरहरू छन्, तर उनीहरूले कमजोर संख्याका बाबजुद आफ्नो क्रियाशीलता र जुझारूकता बढाएर संसद्को भूमिका तथा रौनकलाई कमजोर हुन दिएका थिएनन् । उदाहरणका लागि भारतमा संकटकालअघि इन्दिरा गान्धी प्रधानमन्त्री भएको वेला संख्यात्मक हिसाबले प्रतिपक्ष धेरै कमजोर थियो, तर त्यतिवेला अटल विहारी बाजपेयी, जयप्रकाश नारायण लगायतका करिब आधा दर्जन यस्ता नेता थिए जसले संसद्को रौनकलाई बढाएका थिए । उनीहरूले संसद्मा गर्ने भाषणले मुलुक हल्लिन्थ्यो । प्रतिपक्षले बोल्ने पालो आउँदा संसद्को बैठक कक्ष मिडिया तथा दर्शकहरूले भरिभराउ हुन्थ्यो । एक महिनाअघि नै वरिष्ठ सम्पादकहरूले संसद्को बैठकमा जाने चाँँजो पाँजो मिलाउँथे । खोइ हाम्रो संसद्मा यो रौनक ?