जनता टाइम्स

१९ माघ २०७६, आईतवार २१:१२

सावधान ! चिनेजानेकाबाटै यसरी पर्छन् बालबालिका अपहरणमा, तीन घण्टामै भयो उद्धार


काठमाडौं, माघ १९

मध्यपुर थिमी नगरपालिका–५ निकोसेरामा एक विद्यालय छ । ग्लोरी इंग्लिस बोर्डिङ राधेराधे चोक भन्दा अलिक भित्र पुरानो बाटोको छेउमा रहेको छ । आइतबार १२ बजेतिर सो विद्यालयमा एक २० वर्षीय युवक छिर्छन् । ती युवकले यूकेजीमा अध्ययनरत एक बालिकाको नाम लिई उपचारका लागि अस्पताल लैजानुपर्ने भएकाले अभिभावकले पठाएर लिन आएको प्रशासन सामु बताउछन् ।

अभिभावकलाई ती युवाले राम्रैसँग चिनेका हुन्छन् । त्यत्तिकैमा विद्यालय प्रशासनले विश्वास गरेर ति बालिकालाई युवकसँगै पठायो । ‘युवकको ति बालिकाका बाबुसँग चिनजानकै सम्वन्ध रहेको देखिन्छ, प्रशासनलाई झुक्याएर युवकले बालिका लगेका हुन्’ महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दिपक गिरीले भन्नुभयो ।

दिउँसो ३ बजेतिर बालिकाको बाबुलाई फोन गरी नगद सोह्र लाख रुपैयाँ नदिए ज्यान मार्नेसम्मको धम्की आयो । सो धम्कीको जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुर, महानगरीय प्रहरी वृत्त ठिमीका साथै महानगरीय अपराध महाशाखाको संयुक्त प्रहरी टोली तत्कालै परिचालन भयो ।

सो फोनको लोकेसन हेर्दै प्रहरी खटियो । शंका गरिएका स्थानमा खोजतलास गर्ने क्रममा अपहरित बालिकालाई दिउँसो ३ बजेतिर नै उद्दार गर्न प्रहरी सफल भयो । स्कुलका पूर्व विद्यार्थीको सहयोगमा सुर्यविनायकको घ्याम्पेडाँडाबाट बालिकालाई उद्दार गरिएको गिरीले बताउनु भयो । परिचालित प्रहरीको टोली देखेपछि अपहरण गर्ने ति युवकले बालिकालाई छाडेर भागेका थिए ।

बालिकाको उद्दारपछि प्रहरीले अपहरणकारीको खोजतलास गर्ने क्रममा गठ्ठाघरबाट सर्लाही लालबन्दी ५ स्थायी घर भई ठिमी बस्ने अपहरणकारी आशिष थापालाई नियन्त्रणमा लियो । अपहरणकारीको खोजतलास गर्ने क्रममा मध्यपुर थिमि–४ एसएस चोकबाट थापालाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

थापालाई ५ बजेतिर नै नियन्त्रणमा लिइएको नायव उपरीक्षक गिरीले बताउनु भयो । प्रारम्भिक अनुसन्धानमा आशिष थापा अपहरित बालिकाको नजिकको आफन्त रहेको खुल्न आएको छ । अपहरणमा अरु कसको संलग्नता छ भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।